काठमाडौं । पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई वर्तमान सरकारको नेतृत्व आफैं सम्हाल्न सुझाव दिएका छन् । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै उनले रविलाई सरकार सञ्चालनमा अघि बढ्न आग्रह गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत लामो धारणा सार्वजनिक गर्दै खरेलले प्रधानमन्त्री बालेन शाह र उनको टिमको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।
उनले रवि लामिछानेलाई सम्बोधन गर्दै पार्टीको जिम्मेवारीमा मात्र सीमित नभई सरकारको नेतृत्वसमेत लिनुपर्ने अवस्था आएको उल्लेख गरेका छन् । खरेलले लेखेका छन्, ‘रविजी, पार्टी मात्रै होइन, यो गिरोहलाई हटाएर सरकार पनि आफैं सम्हाल्नुपर्ने अवस्था आइसकेको छ ।’
खरेलले राज्यका प्रभावशाली निकायलाई कमजोर पार्न बिचौलियाहरू सक्रिय रहेको आरोपसमेत लगाएका छन् । दुई तिहाइको जनादेश र जेनजी आन्दोलनपछि प्राप्त जनसमर्थनलाई सरकारले सही ढंगले उपयोग गर्न नसकेको उनको टिप्पणी छ ।
जेनजी आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सुशासन कायम गर्नुपर्ने समयमा सरकारकै गतिविधिले आन्दोलनको मर्म कमजोर बनाएको खरेलको भनाइ छ ।
उनले नेपाली कांग्रेसका सभापति गगन थापामाथि भइरहेको राजनीतिक गतिविधिप्रति पनि आपत्ति जनाएका छन् । सरकारको आलोचना र खबरदारी गरेकै कारण गगनलाई फसाउने प्रयास भइरहेको उनको आरोप छ ।
लोकतन्त्रमा प्रतिपक्षले सरकारलाई प्रश्न गर्ने र जवाफदेही बनाउन दबाब दिने अधिकार राख्ने भन्दै खरेलले यस्तो अधिकार सीमित गर्न खोज्नु गलत भएको बताएका छन् । सरकारलाई निरंकुश बन्नबाट रोक्न प्रतिपक्षको भूमिका महत्वपूर्ण हुने उनको धारणा छ ।
खरेलले गगन थापाले कांग्रेसको आधिकारिकता प्राप्त गर्न १८ करोड रुपैयाँ खर्च गरेको भन्ने आरोप र सर्वोच्च अदालतका न्यायाधीशको नाम जोडेर भइरहेका प्रचारप्रति पनि चिन्ता व्यक्त गरेका छन् ।
उनका अनुसार राजनीतिक तथा कानुनी विवादको टुंगो सामाजिक सञ्जालमा चलाइने अभियानबाट नभई तथ्य, प्रमाण र विधिसम्मत प्रक्रियाबाट लगाइनुपर्छ । डिजिटल माध्यमबाट जनमत प्रभावित पारेर कसैलाई दोषी ठहर गर्नु न्यायोचित नहुने उनको तर्क छ ।
आफ्नो धारणा सार्वजनिक गर्दै खरेलले प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गरी ‘बालेन, दिस इज नट डन’ भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि प्रकट गरेका छन् ।
