काठमाडौं, १८ कात्तिक । बिचौलिया इनम सापकोटासँग सम्बन्धित अडियो सार्वजनिक भएपछि त्यसबारे उठेका प्रश्नको जवाफ माग्दै विपक्षी दलहरूले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक तत्काल बोलाउन माग गरेका छन् ।
सापकोटासँग जोडिएको अडियोको विषयसँगै सरकार, प्रहरी प्रशासन र राज्यका विभिन्न निकायको कार्यशैलीमाथि प्रश्न उठेपछि विपक्षी दलहरूले संसदीय छलफल र छानबिनको आवश्यकता औँल्याएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले समितिका सभापति हरि ढकाललाई लिखित पत्र पठाएर बैठक आह्वान गर्न आग्रह गरेका छन् । अन्य विपक्षी दलका प्रतिनिधिले पनि अनौपचारिक रूपमा बैठक बोलाउन दबाब दिएको बताएका छन् ।
शाहीले आफ्नो पत्रमा नेपाल प्रहरीका महानिरीक्षक र सरकारबीच देखिएको असमझदारी, पत्रकारहरूको पक्राउ, राज्यशक्तिको दुरुपयोग भएको आरोप तथा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको निवासमा प्रहरी हिरासतमा रहेका व्यक्तिको मोबाइल फोन जफत गरिएको विषय उठाएका छन् ।
यी घटनाले राज्य व्यवस्था र सुशासनसँग जोडिएका गम्भीर प्रश्न खडा गरेको भन्दै उनले सम्बन्धित विषयमा समितिमा छलफल र आवश्यक अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।
त्यसैगरी, बैठकमा प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव र नेपाल प्रहरीका महानिरीक्षकलाई उपस्थित गराएर घटनाबारे स्पष्ट जवाफ लिने व्यवस्था मिलाउन पनि शाहीले आग्रह गरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले पनि समिति सभापतिलाई पत्र पठाउँदै बैठक बोलाउन माग गरेका छन् ।
दुलालले प्रहरी हिरासतमा रहेका इनम सापकोटासँग सम्बन्धित भनिएको अडियो कसरी सार्वजनिक भयो भन्ने विषयमा प्रश्न उठाएका छन् । साथै, प्रधानमन्त्री र प्रमुख सल्लाहकार कुमार बेनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका धारणाको आधार के हो भन्नेबारे पनि स्पष्ट हुनुपर्ने उनको माग छ ।
पत्रकारहरू पक्राउ पर्ने र पछि रिहा हुने तर सरकारले घटनाबारे जानकारी नभएको बताउने अवस्थाले थप अन्योल सिर्जना गरेको दुलालको भनाइ छ ।
यस्ता घटनाबारे गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई समितिमा बोलाएर जवाफ माग्नु तथा सरकारलाई जवाफदेही बनाउनु संसदीय समितिको जिम्मेवारी भएको उनले उल्लेख गरेका छन् ।
दुलालले समितिका सभापति ढकालसँग यस विषयमा कुराकानी भइसकेको र बैठक बोलाउने प्रस्तावप्रति सभापति सकारात्मक रहेको जानकारी दिएका छन् ।
