काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सञ्चालन गरिरहेको दुईमहिने राष्ट्रिय जागरण अभियानका लागि मूल नारा सार्वजनिक गरेको छ ।
पार्टीले अभियानका क्रममा प्रयोग हुने मुख्य नाराका रूपमा ‘निरङ्कुशता र अराजकताको विरोध गरौँ’ तथा ‘राष्ट्रियता र लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौँ’ तय गरेको हो । पार्टीका विभिन्न तहका समितिलाई अभियानका ब्यानरमा यी नारा समावेश गर्न निर्देशन दिइएको छ ।
संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले यसअघि जारी गरेको सर्कुलरमा समेत अभियानका नाराबारे उल्लेख गरिएको छ ।
गत कात्तिक ७ गतेदेखि सुरु भएको नेकपाको राष्ट्रिय जागरण अभियान आगामी मंसिर २५ गतेसम्म सञ्चालन हुनेछ ।
महाधिवेशन तथा आगामी स्थानीय तहको निर्वाचनको तयारीलाई अघि बढाउनुका साथै सरकारका कामकारबाहीबारे जनतामाझ पार्टीको धारणा पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको नेकपाले जनाएको छ ।
