भूगर्भविद् सुमन पाण्डे र सन्देश रेग्मीसहितको टोलीले मंगलबार फर्से, किराखोर, खानीगाउँ र ताङवाङ क्षेत्रमा गएको पहिरोको अध्ययन गरेको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए ।
उनका अनुसार अध्ययन टोलीले बुधबार केराबारी, पुलचोक र भेडाबारी क्षेत्रको पहिरोको अवस्था पनि निरीक्षण गर्ने कार्यक्रम छ । विपद्बाट प्रभावित बस्तीमा थप जोखिम पहिचान गरी आवश्यक पुनर्निर्माणको योजना बनाउन गाउँपालिकाको अनुरोध र जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसमा प्राधिकरणले भूगर्भविद्को टोली पठाएको हो ।
अध्ययनका क्रममा टोलीले क्षतिग्रस्त तथा जोखिमयुक्त बस्तीको स्थलगत अवलोकन, ढुङ्गा र माटोका नमुना सङ्कलन तथा ड्रोन क्यामेरामार्फत तस्बिर र श्रव्यदृश्य सामग्री तयार पारेको छ । प्रभावित स्थानीयसँग समेत छलफल गरिएको छ ।
उपाध्यक्ष आचार्यले भौगर्भिक अध्ययनबाट प्राप्त प्रतिवेदन र सुझावका आधारमा पुनर्निर्माणका काम अघि बढाइने बताए ।
गत असोज ८ देखि ११ गतेसम्म परेको लगातारको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढी र विभिन्न स्थानमा गएको पहिरोले जलजला गाउँपालिकामा ३१६ घरमा क्षति पुर्याएको छ ।
गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार प्रारम्भिक विवरणमा १२६ घर पूर्ण रूपमा र ५० घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । थप १४० घर जोखिममा रहेको पहिचान गरिएको छ ।
बाढीपहिरोले निजी आवासमा मात्र नभई कोदो, धानलगायत खाद्यबाली तथा सुन्तलाखेती हुने जमिनमा समेत ठूलो क्षति पुर्याएको छ । यसका साथै सडक, खानेपानी, सिँचाइ र बस्ती संरक्षणका लागि निर्माण गरिएका पूर्वाधार पनि प्रभावित भएका छन् ।
अध्यक्ष आचार्यका अनुसार कालीगण्डकी नदी किनारमा रहेको जलजला गाउँपालिका–८ को फर्से सबैभन्दा बढी प्रभावित क्षेत्र हो । त्यहाँ बाढीले ७५ घर बगाएको छ भने अन्य २७ घर जोखिममा छन् ।
बाढीबाट प्रभावित भई अन्यत्र बसोबासको व्यवस्था गर्न नसक्ने परिवारलाई अस्थायी शिविरमा राखिएको छ । फर्सेसँगै वडा नम्बर ७ का ताङवाङ र खानीगाउँ तथा वडा नम्बर ४ को लामाखेतमा पनि बाढीपहिरोले क्षति पुर्याएको छ ।
त्यस्तै, पहिरोका कारण ताङवाङ र खानीगाउँका ३५ परिवार विस्थापित भएका छन् । प्रभावित परिवारलाई आधारभूत राहत सामग्री उपलब्ध गराउनुका साथै तत्कालीन व्यवस्थापन र दीर्घकालीन पुनःस्थापनाका लागि कार्ययोजना बनाएर काम अघि बढाइएको अध्यक्ष आचार्यले बताए ।
