शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोप, त्यही आधारमा विभिन्न पदमा बढुवा र सुविधा लिएको अख्तियारको दाबी
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत हिराबाबु भट्टराईविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी सरकारी पदमा बढुवा र सेवा सुविधा लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले बुधबार भट्टराईलाई प्रतिवादी बनाएर काठमाडौंस्थित विशेष अदालतमा आरोपपत्र बुझाएको हो ।
अख्तियारका अनुसार भट्टराईले भारतको बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट प्रवीणता प्रमाणपत्र तह (आईए) उत्तीर्ण गरेको दाबी गर्दै २०५५ वैशाख ८ गते राष्ट्रिय अनुसन्धान विभागमा शैक्षिक प्रमाणपत्र पेस गरेका थिए ।
तर, सम्बन्धित शैक्षिक निकायबाट उक्त प्रमाणपत्रको आधिकारिकता जाँच गर्दा भट्टराईको नाम र प्राप्ताङ्क त्यहाँको अभिलेखसँग मेल नखाएको आयोगले जनाएको छ ।
आयोगको दाबीअनुसार सोही प्रमाणपत्रका आधारमा भट्टराईले विभागमा विभिन्न पदमा बढुवा पाउँदै आएका थिए । उनी २०५६ जेठ १० गते सहायक निरीक्षकबाट सेवामा प्रवेश गरेका थिए । त्यसपछि २०६४ असार ३२ गते वरिष्ठ अनुसन्धान सहायक, २०७१ माघ ५ गते अनुसन्धान अधिकृत र २०७५ फागुन १३ गते प्रमुख अनुसन्धान अधिकृत पदमा बढुवा भएका थिए ।
नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा पद र सेवा सुविधा लिएको अभियोगमा भट्टराईलाई कानुनी कारबाही गर्न माग गर्दै आयोगले मुद्दा दायर गरेको जनाएको छ ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीमाथि साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ (२) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) अनुसार सजाय हुनुपर्ने मागदाबी गरिएको छ ।
उक्त मुद्दामा आरोपको अन्तिम निरूपण विशेष अदालतको फैसलाबाट हुनेछ ।
