काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाले सरकार सञ्चालन गर्दा संविधान र कानुनी व्यवस्थालाई आधार बनाउनुपर्ने बताएका छन् । कुनै व्यक्तिको इच्छा वा सनकका आधारमा राज्य सञ्चालन गर्न नहुने उनको भनाइ छ ।
ओखलढुङ्गामा आयोजित एक कार्यक्रममा बोल्दै खतिवडाले वर्तमान सरकारले पाँच वर्षको कार्यकाल पूरा गर्दै जनताको हितमा काम गर्नुपर्ने धारणा राखे । लामो समयपछि मुलुकमा दुई तिहाइ नजिकको सरकार बनेको उल्लेख गर्दै उनले सरकारलाई स्थिरता र जनमुखी काममा केन्द्रित हुन आग्रह गरे ।
सरकारका गतिविधिले नागरिकमा डर र त्रास सिर्जना गर्न नहुने बताउँदै उनले राज्यका प्रमुख संस्थाहरूको गरिमा र स्वायत्तता कायम राख्नुपर्नेमा जोड दिए । न्यायपालिका कमजोर पार्ने, व्यवस्थापिकाको भूमिका खुम्च्याउने तथा निजामती कर्मचारी र प्रहरी प्रशासनको मनोबल घटाउने गतिविधि स्वीकार्य नहुने उनले बताए ।
खतिवडाले संविधान र कानुनका आधारमा देश सञ्चालन गर्ने पद्धति स्थापित गर्न सरकारलाई सुझाव दिए ।
सरकार गठन भएको एक वर्षसमेत पूरा नभएको उल्लेख गर्दै उनले अहिले आरोप–प्रत्यारोपभन्दा राष्ट्रिय एकता र विकासलाई प्राथमिकता दिनुपर्ने बताए । राजनीतिक दलबीचको प्रतिस्पर्धाभन्दा माथि उठेर देशको समृद्धिका लागि साझा प्रयास आवश्यक रहेको उनको भनाइ थियो ।
जातीय र राजनीतिक विभाजनभन्दा राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दै सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा पनि खतिवडाले जोड दिए ।
