नरेशले आफैँ साक्षीका रूपमा उपस्थित हुँदै भने– हाम्रो परिवारमा महिलामाथि हात उठाउने चलन छैन
अमेरिका । नेपाली नर्स ममता काफ्ले भट्टको हत्या गरेको आरोपमा अमेरिकामा मुद्दा खेपिरहेका उनका श्रीमान् नरेश भट्टले अदालतमा आफैँ साक्षीका रूपमा उपस्थित भएर बयान दिएका छन्। बयानका क्रममा उनले ममतामाथि कहिल्यै शारीरिक हिंसा नगरेको दाबी गरेका छन्।
नोभेम्बर ४ मा भएको सुनुवाइमा नरेशले आफ्नो वैवाहिक जीवन, पारिवारिक अवस्था र ममतासँगको सम्बन्धबारे विस्तृत धारणा राखेका हुन्। अमेरिकी सञ्चारमाध्यम फक्स ५ डीसीका अनुसार उनले विवाहपछिका सुरुका दुई वर्ष निकै सुखद रहेको बताएका छन्।
अदालतमा बयान दिनुअघि आफू उत्साहित भए पनि केही तनावमा रहेको बताएका नरेशले प्रश्नहरूको जवाफ दिँदा सहज व्यवहार देखाएका थिए। अंग्रेजी भाषामा आफ्नो कुरा स्पष्ट पार्न कठिन हुन सक्ने भन्दै उनले दोभाषेको सहयोगसमेत लिएका थिए।
वैवाहिक सम्बन्धमा कहिलेकाहीँ सामान्य विवाद हुने गरेको स्वीकार गरे पनि आफूहरूबीच कहिल्यै हातपात नभएको उनको जिकिर थियो।
‘हाम्रो परिवारमा कसैले पनि महिलामाथि हात उठाएको इतिहास छैन। मैले रिसाएको अवस्थामा समेत ममतामाथि कहिल्यै हात उठाएको छैन,’ नरेशले अदालतमा भने।
उनले ममतासँगको सम्बन्धलाई एकअर्कामा निर्भर र निकट रहेको बताए। ममता अमेरिका आएपछि उनको अध्ययन, रोजगारीका लागि आवेदन, आवश्यक कागजी प्रक्रिया र सवारी चलाउन सिक्नेसम्मका काममा आफूले सहयोग गरेको उनको भनाइ थियो।
घरायसी जिम्मेवारीको ठूलो हिस्सा आफूले सम्हाल्ने गरेको दाबी गर्दै नरेशले ममताको सामाजिक सम्बन्ध र आर्थिक गतिविधिमा आफूले कुनै बन्देज नलगाएको बताए। ममताका साथीहरू आफूभन्दा बढी रहेको र उनलाई साथी बनाउन तथा पैसा खर्च गर्न स्वतन्त्रता दिएको उनको भनाइ थियो।
दुवैबीच कहिलेकाहीँ सामान्य भनाभन हुने गरे पनि त्यसबारे सम्झनलायक कुनै विशेष घटना नरहेको उनले अदालतमा बताए।
फेसबुकबाट चिनजान, छोटो समयमै विवाहको निर्णय
नरेशले अदालतमा ममतासँगको पहिलो चिनजान र विवाहको प्रसंग पनि सुनाएका छन्। उनका अनुसार नेपालमा अर्की युवतीसँग विवाहको तयारी भइरहेका बेला चिना नमिलेपछि त्यो सम्बन्ध अघि बढ्न सकेको थिएन। ती युवतीकी रुममेट ममतासँग सन् २०२० मा फेसबुकमार्फत उनको चिनजान भएको थियो।
एकदेखि दुई सातासम्म कुराकानी गरेपछि दुवैले विवाह गर्ने निर्णय लिएको नरेशको भनाइ छ। परिवारमा मृत्यु भएपछि सुरुमा तय गरिएको विवाहको मिति सार्नुपरेको र त्यसपछि सोही वर्ष विवाह सम्पन्न भएको उनले बताए। पारिवारिक सहमतिमै विवाहपछि ममतालाई अमेरिका ल्याइएको पनि उनले उल्लेख गरे।
वैवाहिक जीवनको सुरुवाती दुई वर्ष निकै राम्रो रहेको बताउँदै उनले ममताको नर्सिङ लाइसेन्स परीक्षा, जागिरको आवेदन र अनलाइन अन्तर्वार्तासम्मका प्रक्रियामा आफूले सहयोग गरेको दाबी गरे।
गर्भावस्थादेखि छोरी जन्मिएपछिको अवस्थाबारे बयान
ममता गर्भवती हुँदा आफू निकै चिन्तित रहेको नरेशले अदालतमा बताएका छन्। छोरी जन्मिनुअघि ममताको दुईपटक गर्भपतन भएको उनले सुनाए।
उनका अनुसार अघिल्ला दुई गर्भपतनका कारण सन् २०२३ अगस्टमा छोरी जन्माउने क्रममा दुवै जना निकै सतर्क थिए। लामो प्रसव पीडापछि शल्यक्रिया गरेर छोरीको जन्म भएको थियो।
तर, शल्यक्रियाअघि ढाडमा दिइने एपिड्युरल सुई पटकपटक लगाउँदा ममतालाई समस्या भएको नरेशको दाबी छ। त्यसपछि उनलाई मेरुदण्ड र टाउकोसँग सम्बन्धित समस्या देखिएको तथा असह्य टाउको दुखाइ भएपछि एक सातासम्म अस्पताल बस्नुपरेको उनले बताए।
अस्पतालबाट घर फर्किएपछि पनि ममता लामो समयसम्म ओछ्यानमै सीमित रहेको र उनको दिसापिसाब सफा गर्नेदेखि अन्य स्याहारसम्भारका काम आफूले गरेको नरेशले अदालतमा जिकिर गरे।
छोरी जन्मिएपछि ममताको व्यवहारमा परिवर्तन आएको उनको दाबी छ। पहिले हँसिलो, सक्रिय र भान्साको काममा रुचि राख्ने ममता क्रमशः सुस्त हुँदै गएको तथा घरायसी काममा चासो घटाएको उनले बताए।
‘उनी दिनभर सुत्न खोज्ने र सामान्य कुरामा पनि रिसाउने हुन थालेकी थिइन्। राति आफूले खोकेको, शौचालय प्रयोग गरेपछि फ्लस गरेको वा बत्ती बालेको विषयमा समेत उनी असन्तुष्ट हुन्थिन्,’ नरेशले बयानमा भनेको समाचारमा उल्लेख छ।
उनले अहिले फर्केर हेर्दा ममतामा प्रसवपछिको डिप्रेसन (पोस्टपार्टम डिप्रेसन) को समस्या हुन सक्ने महसुस भएको बताए। तर, आफू दिनमा १६ देखि १७ घण्टासम्म दुईवटा जागिरमा व्यस्त रहने भएकाले त्यसबेला उक्त अवस्थालाई गम्भीर रूपमा बुझ्न नसकेको उनको भनाइ थियो।
ममताको परिवारसँग सम्बन्ध राम्रो रहेको दाबी
ममताका आमाबुबासँग आफ्नो सम्बन्ध राम्रो रहेको नरेशले अदालतमा बताए। उनका अनुसार ममताका दाजु महेश काफ्लेले सोमबार अदालतमा दिएको बयानपछि मात्रै आफूलाई दाजुले मन नपराउने रहेछन् भन्ने थाहा भएको थियो।
यसरी सुरु भएको थियो ममता बेपत्ता प्रकरण
ममता भर्जिनिया राज्यस्थित यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्सका रूपमा कार्यरत थिइन्। सन् २०२४ अगस्ट १ मा उनी नियमित काममा उपस्थित नभएपछि सहकर्मीहरूले उनको अवस्थाबारे चासो देखाएका थिए।
त्यसपछि प्रहरी ममता र नरेश बस्दै आएको घरमा पुगेको थियो। नरेशले सुरुमा ममता हराएको भन्ने आफूलाई विश्वास नभएको र जुलाई २९ मा अन्तिमपटक उनलाई देखेको बताएका थिए। उनले ममता घर छाडेर जान चाहेको तथा सम्बन्धविच्छेदको कुरा गरेको दाबीसमेत प्रहरीसमक्ष गरेका थिए।
अगस्ट ५ मा नरेशले औपचारिक रूपमा ममता बेपत्ता भएको उजुरी दिएका थिए। तर, ममताका परिवार र साथीहरूले सानो छोरीलाई छाडेर कसैलाई जानकारी नदिई उनी घरबाट बाहिरिने सम्भावना नरहेको बताउँदै आएका थिए।
अनुसन्धान अघि बढाउने क्रममा प्रहरीले अगस्ट २२, २०२४ मा नरेशलाई पक्राउ गरेको थियो। त्यसपछि घरको मुख्य शयनकक्ष र बाथरुममा रगतका दाग फेला परेका थिए। अनुसन्धानकर्ताहरूले रौँका टुक्रासमेत रहेको विद्युतीय आरा पनि बरामद गरेका थिए।
अभियोजन पक्षले प्रस्तुत गरेका प्रमाण
मुद्दाको सुनुवाइमा अभियोजन पक्षले घरमा भेटिएको रगत, फरेन्सिक परीक्षण, विद्युतीय आरा, मोबाइल फोनका विवरण तथा नरेशको गाडीको आवागमनसम्बन्धी तथ्यांकलाई प्रमाणका रूपमा प्रस्तुत गरेको छ।
अभियोजन पक्षका फरेन्सिक विशेषज्ञले शयनकक्षको कार्पेटमा भेटिएको अधिकांश रगत ममताकै भएको सम्भावना अत्यन्त बलियो रहेको बताएका थिए। विद्युतीय आरामा भेटिएको रगत र डीएनए पनि ममतासँग सम्बन्धित रहेको अभियोजन पक्षको दाबी छ।
अभियोजन पक्षले नरेशले ममताको हत्या गरेर शव टुक्राटुक्रा पारी लुकाएको आरोप लगाएको छ। यद्यपि, ममताको शव अहिलेसम्म फेला परेको छैन।
अर्कोतर्फ, प्रतिरक्षा पक्षले अभियोजन पक्षले प्रस्तुत गरेका प्रमाण र घटनाक्रमको व्याख्यामाथि प्रश्न उठाउँदै आएको छ। ममता बेपत्ता भएको समय र घटनाको वास्तविक क्रमबारे अभियोजन पक्षले प्रस्तुत गरेका दाबीहरू निर्णायक रूपमा पुष्टि नभएको प्रतिरक्षा पक्षको जिकिर छ।
नोभेम्बर २ मा अभियोजन पक्षले आफ्ना साक्षी र प्रमाण प्रस्तुत गर्ने काम पूरा गरेको थियो। त्यसपछि प्रतिरक्षा पक्षले नरेशलाई नै अदालतमा साक्षीका रूपमा उभ्याएको हो।
नरेशको बयानमाथि अब अभियोजन पक्षको जिरह
अदालतमा नरेशले दिएका दाबीलाई अभियोजन पक्षले जिरहका क्रममा चुनौती दिन सक्नेछ। त्यस क्रममा उनको अहिलेको बयान, यसअघि प्रहरीलाई दिएका जवाफ र घटनास्थलबाट प्राप्त भौतिक प्रमाणबीचको सम्बन्ध महत्वपूर्ण हुने देखिन्छ।
नरेशमाथि प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा शव क्षतविक्षत पार्ने अभियोग लगाइएको छ। उनले आफूलाई लागेको आरोप अस्वीकार गर्दै आएका छन्।
ममताको शव फेला नपरेको अवस्थामा अभियोजन पक्षले प्रस्तुत गरेका फरेन्सिक प्रमाण, घटनासँग जोडिएका तथ्य र प्रतिरक्षा पक्षको जिकिरलाई जुरीले कसरी मूल्यांकन गर्छ भन्ने विषय मुद्दाको महत्वपूर्ण पक्ष बनेको छ।
नरेशको पछिल्लो बयानमा भने हत्यासम्बन्धी मुख्य आरोपबारे विस्तृत जवाफ आइसकेको छैन। उनको बयान आगामी सुनुवाइमा पनि जारी रहनेछ। त्यसपछि अभियोजन पक्षले उनीसँग घटनाको मुख्य विषयमा जिरह गर्ने अपेक्षा गरिएको छ।
