इनाम सापकोटाको बयानका आधारमा थापालाई पक्राउ गर्ने प्रयास भइरहेको राणाको आरोप
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगन थापालाई पक्राउ गर्ने प्रयास भए त्यसको प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
ललितपुरको बज्रबाराहीमा आयोजित सरसफाइ तथा फूल रोप्ने कार्यक्रममा बोल्दै राणाले सरकारले सभापति थापाविरुद्ध प्रतिशोधपूर्ण कदम चाल्न खोजे कांग्रेस चुप लागेर नबस्ने बताएका हुन् ।
उनले सभापति थापामाथि सरकारले कुनै पनि अनुचित कदम चाले पार्टीले त्यसको दृढतापूर्वक प्रतिरोध गर्ने बताए । सरकारको कदमको प्रतिवाद गर्न कांग्रेस तयार रहेको उनको भनाइ थियो ।
बिचौलिया इनाम सापकोटाको बयानलाई आधार बनाएर सभापति थापालाई पक्राउ गर्ने प्रयास भइरहेको राणाले आरोप लगाए । उनले सरकारबाट प्रतिशोधपूर्ण व्यवहार भए त्यसविरुद्ध सशक्त रूपमा उभिन पार्टीका नेता तथा कार्यकर्तालाई आह्वानसमेत गरे ।
महामन्त्री राणाले सरकारका गतिविधि लोकतान्त्रिक मूल्य, विधिको शासन र नागरिक अधिकारको मर्मविपरीत रहेको दाबी गरे । उनले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सरकारले गैरकानुनी रूपमा पदबाट हटाएको आरोप पनि लगाए ।
