ओखर, बदाम र काजुको आयात उच्च, सुपारीमा मात्रै ८४ करोडभन्दा बढी खर्च
काठमाडौं । तिहार नजिकिएसँगै दाजुभाइलाई उपहारस्वरूप दिइने भाइमसलाको आयात पनि बढेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले तीन अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको भाइमसला आयात गरेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि असोजसम्म विभिन्न प्रकारका भाइमसलाको आयातमा तीन अर्ब ३१ करोड ३२ लाख रुपैयाँ खर्च भएको छ ।
भाइमसलामा सामान्यतया ओखर, बदाम, काजु, किसमिस, पेस्ता, नरिवललगायतका सुक्खा फलफूल समावेश हुन्छन् । स्वदेशी उत्पादनले बजारको माग धान्न नसक्दा नेपालले यस्ता वस्तु विभिन्न मुलुकबाट आयात गर्दै आएको छ ।
भारत, भियतनाम, चीन, कतार, साउदी अरब, मलेसिया, कुवेत, दक्षिण कोरिया, बेलायत र इजरायललगायत देशबाट नेपालमा भाइमसला भित्रिने गरेको छ ।
भन्सार विभागका अनुसार तीन महिनाको अवधिमा सबैभन्दा बढी ८४ करोड ७७ लाख रुपैयाँ बराबरको सुपारी आयात भएको छ । त्यसैगरी ६५ करोड ३९ लाख रुपैयाँको ओखर र ५८ करोड ६५ लाख रुपैयाँ बराबरको नरिवल आयात गरिएको छ ।
यस्तै, ४६ करोड ५७ लाख रुपैयाँको काजु र ४७ करोड ९३ लाख रुपैयाँको बदाम आयात भएको तथ्यांकमा उल्लेख छ । यस अवधिमा किसमिसको आयातमा २७ करोड ६३ लाख रुपैयाँ खर्च भएको छ ।
त्यस्तै, ३० लाख रुपैयाँ बराबरको पेस्ता तथा चार–चार लाख रुपैयाँको खजुर र छोकडा आयात गरिएको भन्सार विभागले जनाएको छ ।
