‘म डराउने मान्छे होइन, ओलीलाई भेट्न गएको भन्ने कुरा झूटो’
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले इनम सापकोटासँग सम्बन्धित भनिएको विवादास्पद अडियोमा आफ्नो नाम जोडिएको विषयमा अनभिज्ञता प्रकट गर्दै कुनै पनि अनियमितता वा आर्थिक लेनदेनमा आफू संलग्न नरहेको दाबी गरेका छन् ।
प्रहरी हिरासतमा रहेका इनम सापकोटाको भनिएको अडियो सार्वजनिक भएपछि त्यसमा आफ्नो नाम जोडिएको विषयमा प्रतिक्रिया दिँदै थापाले पार्टीको आधिकारिकता र आन्तरिक रूपान्तरणका लागि भएको संघर्षलाई कार्यकर्ताको विद्रोहका रूपमा व्याख्या गरे ।
पार्टीको राजनीतिक तथा कानुनी लडाइँमा कुनै आर्थिक कारोबार नभएको जिकिर गर्दै उनले एक सुका पनि लेनदेन नभएको स्पष्ट पारे ।
उनले भने, ‘विद्रोह गर्नेले परिणामको चिन्ता गर्छ ? करोडको कुरा गर्छन् ! पार्टीको आधिकारिकताको राजनीतिक–कानुनी लडाइँमा रुपैयाँ होइन, एक सुकाको पनि कुनै आर्थिक लेनदेन र अनुचित काम भएको छैन ।’
यस विषयमा महामन्त्री विश्वप्रकाश शर्माले पार्टी कार्यालयबाटै धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै थापाले कांग्रेस निष्पक्ष छानबिनका लागि तयार रहेको बताए ।
विवादित अडियोको उत्पत्ति, त्यसमा बोलिएका विषय र त्यसको उद्देश्यबारे निष्पक्ष अनुसन्धान हुनुपर्ने उनको भनाइ छ । ‘अडियो कहाँ, कसले, कहिले र किन बोल्यो वा बोलाइयो, त्यो अनुसन्धानको विषय हो । अनुसन्धान निष्पक्ष हुनुपर्छ, दूधको दूध पानीको पानी छुटिन्छ,’ उनले भने ।
अडियो सार्वजनिक भएपछि डराएर विभिन्न दलका शीर्ष नेताहरूलाई भेट्न गएको भन्ने चर्चालाई पनि थापाले अस्वीकार गरे । आफू कुनै दबाब वा डरमा नपर्ने उल्लेख गर्दै उनले भने, ‘म तर्सिने जिनिस नै होइन, तर्सिने बानी नै छैन ।’
त्यस्तै, केपी शर्मा ओलीलाई डराएर भेट्न गएको भन्ने दाबी पनि झूटो भएको उनको भनाइ छ ।
