- भारतीय विदेश सचिव विक्रम मिस्री र प्रधानमन्त्री वालेन्द्र शाहबीच प्रस्तावित भारत भ्रमणको तयारी, एजेन्डा र द्विपक्षीय सहकार्यबारे कुराकानी भएको छ।
- भोटेकोशी बाढीपछिको पुनर्निर्माण तथा पुनःस्थापनामा भारतले सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ।
- ऊर्जा, व्यापार, पूर्वाधार विकास र कनेक्टिभिटीका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषय पनि छलफलमा समेटिएको छ।
काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिस्रीले बिहीबार प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गरी दुई देशबीचको सम्बन्ध र भावी सहकार्यका विषयमा छलफल गरेका छन् ।
परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आएका मिस्रीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमणलाई मुख्य प्राथमिकता दिइएको थियो । भ्रमणको तयारी, सम्भावित एजेन्डा र त्यसलाई अघि बढाउने प्रक्रियाबारे दुवै पक्षबीच छलफल भएको जनाइएको छ ।
भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री शाहलाई भारतमा स्वागत गर्न आफूहरू इच्छुक रहेको बताएका थिए । दुवै देशबीच सहमति जुटाएर भ्रमणको मिति चाँडै तय हुने विश्वाससमेत उनले व्यक्त गरेका थिए ।
भेटमा मिस्रीले नेपालमा भोटेकोशी बाढीपछि उत्पन्न विपत्तिप्रति दुःख व्यक्त गर्दै भारत आवश्यक सहयोगका लागि तयार रहेको बताएका थिए । पुनर्निर्माण र पुनःस्थापनाका काममा भारतले साथ दिने प्रतिबद्धता उनले व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपालको विकास, समृद्धि र साझा हितका विषयमा भारतको सहयोग तथा सहकार्य निरन्तर रहने धारणा पनि मिस्रीले राखेका थिए ।
दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने विषयमा भएको छलफलमा ऊर्जा, व्यापार, पूर्वाधार विकास र कनेक्टिभिटीजस्ता क्षेत्रमा सहकार्य विस्तार गर्नेबारे पनि कुराकानी भएको थियो । यी क्षेत्रलाई प्रधानमन्त्रीको प्रस्तावित भारत भ्रमणका सम्भावित एजेन्डाका रूपमा अघि बढाउने विषयमा समेत छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री शाहको भारत भ्रमण मंसिर ६ गतेदेखि गर्ने प्रस्तावित तयारी रहे पनि दुवै देशले औपचारिक रूपमा मिति सार्वजनिक गरेका छैनन् । विदेश सचिव मिस्री स्वदेश फर्किएपछि आपसी परामर्शका आधारमा भ्रमणको मिति घोषणा गर्ने तयारी रहेको जनाइएको छ ।
नेपाल भ्रमणका क्रममा मिस्रीले विभिन्न मन्त्रालयका मन्त्रीहरूसँग पनि छलफल गरेका थिए । बुधबार उनले परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । परराष्ट्र सचिव राईसँग पनि उनले द्विपक्षीय विषयमा छलफल गरेका थिए ।
मन्त्रालयका मन्त्रीहरूसँग भएका छलफलमा विभिन्न विकास आयोजना र आपसी सहकार्यका विषय उठेका थिए । ती विषय प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा छलफलका एजेन्डा बन्न सक्ने बताइएको छ ।
दुईदिने नेपाल भ्रमण पूरा गरी विदेश सचिव मिस्री बिहीबार नै नयाँदिल्ली फर्कने कार्यक्रम छ ।
