काठमाडौं । चलचित्र ‘छ माया छपक्कै २’ को व्यावसायिक असफलतापछि निर्माता रोहित अधिकारी र अभिनेता दीपकराज गिरीबीचको विवाद थप चर्किएको छ। निर्माता अधिकारीले सञ्चारमाध्यममा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै गिरीले आवश्यक परे मानहानिको कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएका छन्।
अधिकारीले नेपाल प्रेससँगको कुराकानीमा चलचित्र निर्माणका लागि ३ करोड ४० लाख रुपैयाँ लगानी गर्दा करिब डेढ करोड रुपैयाँ घाटा भएको बताएका थिए। उनले चलचित्रको पटकथा परिवर्तन, सेन्सरअघि फिल्म हेर्न नपाएको, विदेश प्रदर्शन अधिकार आफूखुसी बिक्री गरिएको तथा आफ्नो जानकारीबिना दुई ठूला कम्पनीका विज्ञापन समावेश गरिएको लगायत विषयमा गिरीप्रति असन्तुष्टि व्यक्त गरेका थिए।
तर, गिरीले अधिकारीको अभिव्यक्तिलाई अनावश्यक मिडियाबाजीको संज्ञा दिएका छन्। उनका अनुसार निर्माता अधिकारीले नै दुवै पक्षबीच भएको सम्झौता उल्लंघन गरेका छन्।
नेपाल प्रेससँग कुरा गर्दै गिरीले आफूले सार्वजनिक बहस गर्न नचाहेको उल्लेख गर्दै विवादको निरूपण कागजात र कानुनी प्रक्रियाबाट हुनुपर्ने बताए।
उनले सम्झौताको १२औँ बुँदामा उल्लेख गरिएको गोपनीयतासम्बन्धी व्यवस्थाको उल्लंघन भएको दाबी गरेका छन्। उक्त बुँदामा दुवै पक्षको लिखित सहमतिबिना सम्झौतासँग सम्बन्धित आर्थिक, व्यापारिक, प्राविधिक तथा सिर्जनात्मक विवरण तेस्रो पक्षलाई सार्वजनिक गर्न नपाइने व्यवस्था रहेको छ।
<escape></escape>
सम्झौताविपरीत सार्वजनिक अभिव्यक्ति दिने क्रम जारी रहे आफ्नो टोली मानहानिसम्बन्धी मुद्दा दायर गर्ने विषयमा कानुनी परामर्शमा रहेको गिरीले बताएका छन्। उनले विवादका विषयमा थप टिप्पणी गर्नुभन्दा सम्झौता र अन्य कागजातले नै सबै कुरा स्पष्ट पार्ने जिकिर गरेका छन्।
गिरीनिकट एक कानुन व्यवसायीले पनि निर्माता अधिकारीविरुद्ध मानहानिसँगै चेक बाउन्ससम्बन्धी कानुनी प्रक्रिया अघि बढ्न सक्ने बताएका छन्। उनका अनुसार अधिकारीले दिएका दुईवटा चेक आफूहरूसँग सुरक्षित छन्।
विदेश प्रदर्शन अधिकारबापत उठ्न बाँकी रकमका विषयमा पनि ती कानुन व्यवसायीले गिरीको जिम्मेवारी नरहने दाबी गरेका छन्। विदेशबाट रकम प्राप्त गरी गिरीले आफूसँग राखेको अवस्थामा मात्रै उक्त रकम फिर्ता गर्नुपर्ने उनको तर्क छ।
उपलब्ध विवरणअनुसार ‘छ माया छपक्कै २’ ले हालसम्म करिब साढे तीन करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ। यसबाट निर्माताको हातमा करिब एक करोड १५ लाख रुपैयाँ आउने अनुमान गरिएको छ। अधिकारीले विदेश प्रदर्शनबाट करिब ६५ लाख रुपैयाँ प्राप्त भएको बताएका छन्।
चलचित्रको डिजिटल प्रदर्शन अधिकार भने पूर्वसहमतिअनुसार गिरीले पाएका छन्। चलचित्रले अपेक्षित व्यापार गर्न नसकेपछि त्यसको जिम्मेवारी आफूले लिने गिरीले यसअघि बताएका थिए। उनले ‘छ माया छपक्कै ३’ निर्माण गर्ने घोषणा पनि गरिसकेका छन्।
चलचित्रको प्रतिलिपि अधिकार आफूसँग रहेको दाबी गर्दै गिरीले आगामी सिक्वेल निर्माण गर्ने अधिकार पनि आफूमा रहेको बताएका छन्। उता निर्माता अधिकारी भने चलचित्रका निर्देशक दीपेन्द्र लामासँग सहकार्य गरेर अर्को चलचित्र निर्माणको तयारीमा जुटेका छन्।
