काठमाडौं । वाणिज्य बैंकहरूमा खराब कर्जाको समस्या थप बढ्दै गएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरूको औसत खराब कर्जा अनुपात ५.६४ प्रतिशत पुगेको छ।
बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ वटा बैंकको खराब कर्जा अनुपात बढेको छ भने ७ वटा बैंकले घटाउन सफल भएका छन्।
असोज मसान्तसम्मको तथ्याङ्कमा प्रभु बैंक सबैभन्दा बढी खराब कर्जा भएको बैंक बनेको छ। बैंकको खराब कर्जा अनुपात बढेर १४.८० प्रतिशत पुगेको छ। गत वर्षको सोही अवधिमा यो अनुपात ५.७८ प्रतिशत थियो।
त्यस्तै, एनआईसी एसिया बैंकको खराब कर्जा पनि उल्लेख्य रूपमा बढेको छ। गत वर्ष ६.९९ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात यस वर्ष ९.८१ प्रतिशत पुगेको छ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको खराब कर्जा अनुपात ८.८७ प्रतिशत पुगेको छ। कुमारी बैंकको ८.७२ प्रतिशत र हिमालयन बैंकको ७.९८ प्रतिशत रहेको छ।
यसैगरी, प्राइम कमर्सियल बैंकको खराब कर्जा अनुपात ७.१५ प्रतिशत, सिटिजन्स बैंकको ६.८० प्रतिशत र लक्ष्मी सनराइज बैंकको ५.५८ प्रतिशत पुगेको वित्तीय विवरणमा उल्लेख छ।
पहिलो त्रैमासिक विवरणले अधिकांश बैंकमा खराब कर्जाको दबाब बढेको देखाएको छ। अन्य बैंकहरूको खराब कर्जा अनुपात र घटबढको अवस्था सार्वजनिक सूचीमा समेटिएको छ।
