काठमाडौं, २२ कात्तिक। सरकारले पशुपन्छीको संरक्षण र उनीहरूमाथि हुने क्रूर व्यवहार नियन्त्रण गर्न छुट्टै पशु कल्याण विधेयक ल्याउने तयारी गरेको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीका अनुसार विधेयकको मस्यौदा तयार पारेर सरकारले अहिले सरोकारवालासँग सुझाव लिइरहेको छ।
आइतबार कुकुर तिहारका अवसरमा आयोजित कार्यक्रममा मन्त्री चौधरीले पशु अधिकार र कल्याणका विषयलाई कानुनी रूपमा व्यवस्थित गर्न सरकार सक्रिय रहेको बताइन्। लामो समयदेखि पशु कल्याणका लागि छुट्टै कानुन आवश्यक रहेको माग उठ्दै आएको उनको भनाइ थियो।
उनका अनुसार २०७८ सालमा मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति प्राप्त भएपछि विधेयकको मस्यौदा तयार गर्ने प्रक्रिया अघि बढाइएको हो।
नेपालको संविधानले पनि पशु कल्याणको विषयलाई समेटेको उल्लेख गर्दै मन्त्री चौधरीले मुलुकी अपराध संहिता, २०७४ मा पशुपन्छीको संरक्षण, लापरबाहीपूर्वक पालनपोषण, बेवारिसे अवस्थामा छाड्ने तथा निर्दयी व्यवहार गर्नेमाथि नियन्त्रण गर्ने व्यवस्था रहेको बताइन्। उक्त संहिताले पशुमाथि क्रूर व्यवहार गर्नेलाई दण्ड र सजायको प्रावधानसमेत गरेको छ।
त्यसैगरी, पशु कल्याण निर्देशिका, २०७३ ले पशुपन्छीको उचित हेरचाह र संरक्षणका लागि आवश्यक मापदण्ड निर्धारण गरेको छ। निर्देशिकाअनुसार पशु ढुवानी गर्दा क्रूर व्यवहार गर्न पाइँदैन। काममा लगाइने पशुलाई दैनिक आठ घण्टाभन्दा बढी काममा लगाउन नपाइने र सातामा कम्तीमा एक दिन आराम दिनुपर्ने व्यवस्था छ।
मन्त्री चौधरीले राष्ट्रिय पशु कल्याण तथा स्रोत व्यवस्थापन कार्यालयमार्फत पशु कल्याणसम्बन्धी कार्यक्रम सञ्चालन र व्यवस्थापन भइरहेको जानकारी दिइन्। कार्यालयले यस क्षेत्रमा आवश्यक प्राविधिक मार्गनिर्देशनसमेत जारी गर्दै आएको छ।
कानुन निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयन पनि उत्तिकै आवश्यक रहेको उल्लेख गर्दै उनले पशुपन्छीमाथि हुने दुर्व्यवहार र क्रूरता अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताइन्।
कार्यक्रममा मन्त्री चौधरीले नेपालमा पशु संरक्षणको अभ्यास ऐतिहासिक रूपमा पुरानो रहेको प्रसंग पनि उल्लेख गरिन्। उनका अनुसार तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले १९८४ सालमा पशुपतिनाथ गौशालाको स्थापना गरेका थिए।
