काठमाडौं, २२ कात्तिक। कुकुर तिहारको अवसरमा नेपाली सेनाले भक्तपुरको मध्यपुर थिमिस्थित भैरव वाहन गुल्ममा विशेष ‘डग शो’ आयोजना गरेको छ। आइतबार आयोजित कार्यक्रममा कुकुरको पूजा गर्नुका साथै तालिमप्राप्त कुकुरहरूको क्षमता र सीप प्रदर्शन गरिएको हो।
प्रदर्शनीमा सेनाका कुकुरहरूले खोज तथा पहिचान, ट्र्याकिङ, सुरक्षा र शंकास्पद वस्तु पत्ता लगाउनेलगायतका सीप देखाएका थिए।
नेपाली सेनाको प्रबन्ध रथी विभागका विभागीय प्रमुख उपरथी हरेन्द्र पाठकले सीमित स्रोतसाधनका बीच कुकुरलाई विशेष तालिम दिएर विभिन्न जिम्मेवारीमा परिचालन गर्नु चुनौतीपूर्ण रहेको बताए। उनले कुकुरलाई सेनाको महत्वपूर्ण सहयोगी शक्ति र सुरक्षा तथा खोजी कार्यमा प्रभावकारिता बढाउने माध्यमका रूपमा व्याख्या गरे।
उनका अनुसार कुकुरलाई ‘फोर्स मल्टिप्लायर’ का रूपमा प्रयोग गर्न सकिन्छ। गस्ती, सुरक्षा, खोजी, ट्र्याकिङ, शंकास्पद व्यक्ति तथा विस्फोटक पदार्थ पहिचान गर्ने काममा कुकुरको भूमिका महत्वपूर्ण रहेको उनले बताए।
पाठकले सैनिकको मनोबल बढाउनसमेत कुकुरले सहयोग पुर्याउने उल्लेख गरे। विशेषगरी युद्ध तथा जंगलमा खटिने सैनिकसँग कुकुर हुँदा उनीहरूको काम गर्ने हौसला बढ्ने अनुभव रहेको उनको भनाइ थियो।
मानिसको तुलनामा कुकुरको सुँघ्ने क्षमता निकै बढी हुने भएकाले टाढा रहेका शंकास्पद व्यक्ति र विस्फोटक उपकरण पहिचान गर्न उनीहरू प्रभावकारी हुने उनले बताए। यही क्षमताका कारण सेनाले कुकुरलाई विशेष तालिम दिएर विभिन्न सुरक्षा जिम्मेवारीमा परिचालन गर्दै आएको छ।
नेपाली सेनाले कुकुरलाई निष्ठा, इमान्दारिता र बफादारिताको प्रतीक मान्दै हरेक वर्ष कुकुर तिहारमा पूजा गर्दै आएको छ। धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणसँगै मानिस र कुकुरबीचको मित्रता तथा सहअस्तित्वप्रति सम्मान प्रकट गर्न यस्तो कार्यक्रम आयोजना गरिँदै आएको सेनाले जनाएको छ।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख, वडाध्यक्ष, सैनिक अधिकारी, पशु चिकित्सक, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको सहभागिता थियो।
