नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाका अनुसार स्थायी पुल निर्माण नहुँदासम्म सर्वसाधारणलाई आवागमनमा सहजता प्रदान गर्न अस्थायी विकल्पका रूपमा पन्टुन पुल सञ्चालन गर्ने तयारी गरिएको हो। पानीको बहाव कम हुने हिउँदयाममा मात्र सञ्चालन गर्न सकिने भएकाले यो पुललाई अस्थायी व्यवस्थाका रूपमा लिइएको छ।
पुल निर्माणका लागि आवश्यक ड्रम तथा अन्य संरचनात्मक सामग्री बर्दियाको राजापुरबाट धादिङ ल्याइएको छ। राजापुरमा रहेको पुरानो पन्टुन पुलमा कुल ३३ वटा ड्रममध्ये तीनवटा ड्रम बाढीले बगाएको थियो। बाँकीमध्ये २४ वटा ड्रम धादिङ ल्याइएको हो।
प्राविधिक टोलीले गरेको निरीक्षणअनुसार उपलब्ध २४ वटा ड्रम प्रयोग गरेर नदी वारपार गर्न सकिने निष्कर्ष निकालेपछि सोहीअनुसार पुलका सामग्री ढुवानी गरिएको नगरप्रमुख ढुंगानाले जानकारी दिए। उनका अनुसार एउटा कन्टेनरमा बढीमा दुईवटा पार्ट मात्र ढुवानी गर्न सम्भव भएकाले सोही व्यवस्थाअनुसार सामग्री ल्याइएको हो।
यसअघि उक्त पन्टुन पुलले बर्दियाको राजापुर क्षेत्रमा लामो समयसम्म यातायात सेवा प्रदान गरेको थियो। कर्णाली नदीको कोठियाघाटमा पक्की पुल निर्माण हुनुअघि यही पन्टुनमार्फत नदी वारपार गर्ने व्यवस्था मिलाइएको थियो। २०७१ साल असोजमा कोठियाघाटमा पक्की पुल उद्घाटन भएपछि पन्टुन प्रयोगविहीन बनेको थियो।
लामो समयदेखि प्रयोगमा नरहेकाले जीर्ण अवस्थामा पुगेको भए पनि प्राविधिक परीक्षणपछि सामान्य मर्मत गरेर पुनः सञ्चालन गर्न सकिने निष्कर्ष निकालिएको हो। त्यसपछि धादिङका स्थानीय तहले सिँचाइ विभाग र सम्बन्धित मन्त्रालयबाट आवश्यक सिफारिस लिएर फुर्केखोलामा पुल जडान गर्ने प्रक्रिया अघि बढाएका हुन्।
नगरप्रमुख ढुंगानाका अनुसार भाइटीकाको भोलिपल्टदेखि पुल जडानको काम सुरु गर्ने तयारी गरिएको छ। अहिले पुलका विभिन्न पार्टपुर्जाको मर्मत तथा रङरोगन भइरहेको छ। साथै पुलसम्म पुग्ने पहुँचमार्ग निर्माणको काम पनि भइरहेको छ।
प्राविधिकको सुझावअनुसार सुरुमा हलुका सवारीसाधन र अत्यावश्यक सेवाका सवारीलाई मात्र आवागमनको अनुमति दिइनेछ। त्यसपछि पुलको क्षमता परीक्षण गरेर मात्रै भारी सवारीसाधन सञ्चालन गर्ने विषयमा निर्णय लिइनेछ।
गत भदौ १० गते आएको विनाशकारी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङ सदरमुकाम र पृथ्वीराजमार्गबीचको सीधा यातायात सम्पर्क विच्छेद भएको थियो। यसबाट धादिङसँगै गोरखाका केही गाउँको यातायात सेवासमेत प्रभावित भएको छ।
पुल बगाएपछि वैकल्पिक व्यवस्थामार्फत आवागमन भइरहेको भए पनि यात्रुहरूले थप सास्ती भोग्नुपरेको छ। ढुवानी खर्च बढ्दा दैनिक उपभोग्य वस्तु महँगिएका छन् भने स्थानीय उत्पादनले सहज रूपमा बजार पाउन सकेका छैनन्।
स्थायी पुल निर्माणको आवश्यकता रहे पनि सम्बन्धित निकायबाट काम अघि नबढेपछि जिल्लाका स्थानीय सरकारहरू आफैँ सक्रिय भएर अस्थायी समाधान खोज्न बाध्य भएको नगरप्रमुख ढुंगानाको भनाइ छ।
उनका अनुसार पन्टुन पुल जडानका लागि मात्रै करिब ३० देखि ३५ लाख रुपैयाँ खर्च हुने अनुमान छ। स्थानीय तहको आर्थिक तथा प्राविधिक क्षमताले स्थायी पुल वा बेलिब्रिज निर्माण गर्न सम्भव नभएकाले संघीय सरकारले तत्काल पहल गर्नुपर्ने उनले बताए।
यसैबीच, फुर्केखोलामा स्थायी पुल निर्माणका लागि सम्बन्धित सरकारी निकायमाथि दबाब जारी राखिने स्थानीय तहले जनाएका छन्।
बर्दियामा १४ वर्ष सेवा दिएको पन्टुन
बर्दियाको राजापुर क्षेत्रको पहिचान बनेको पन्टुन पुलले गेरुवा नदीमा २०५६ देखि २०७० सालसम्म निरन्तर यातायात सेवा दिएको थियो। कात्तिकदेखि जेठसम्म नदीमा जडान गरेर सञ्चालन गरिने उक्त पुल स्थानीय बासिन्दाका लागि निकै उपयोगी बनेको थियो। त्यसैले स्थानीयले यसलाई राजापुरको वरदानका रूपमा समेत लिने गरेका थिए।
तत्कालीन समयमा एसियाली विकास बैंकको करिब सात करोड रुपैयाँ ऋण सहयोगमा चीनको प्रविधिमा आधारित उक्त पुल ल्याइएको थियो।
लामो समयसम्म उचित मर्मतसम्भार हुन नसक्दा पुलका केही ड्रममा खिया लाग्ने र प्वाल पर्ने समस्या देखिएको थियो। यसको व्यवस्थापन राजापुर सिँचाइ आयोजनाका लागि समेत चुनौती बनेको थियो।
एक दशकभन्दा लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको उक्त पन्टुन पुल अब धादिङको फुर्केखोलामा पुनः जडान हुने तयारीसँगै नयाँ भूमिकामा फर्किने भएको छ।
