काठमाडौं । यमपञ्चकको दोस्रो दिन नेपाली सेनाले तालिमप्राप्त सैनिक कुकुरहरूको पूजाआजा गरी कुकुर तिहार मनाएको छ।
भक्तपुरको मध्यपुर थिमिस्थित भैरवबहान गुल्ममा आइतबार विशेष कार्यक्रम आयोजना गरी सेनाका तालिमप्राप्त कुकुरहरूको पूजा गरिएको हो। कार्यक्रममा कुकुरहरूलाई टीका र माला लगाइदिनुका साथै मनपर्ने परिकार खुवाइएको थियो।
कुकुर तिहारको अवसरमा सेनाले विशेष पूजासँगै ‘डग शो’ पनि आयोजना गरेको थियो। त्यसक्रममा सैनिक कुकुरहरूले अपराध अनुसन्धान, खोजी तथा उद्धारसँग सम्बन्धित आफ्नो दक्षता र कार्यकौशल प्रदर्शन गरेका थिए।
कार्यक्रममा बोल्दै नेपाली सेनाको प्रबन्ध रथी विभागका प्रमुख उपरथी हरेन्द्र पाठकले सीमित स्रोतसाधन र विभिन्न चुनौतीका बाबजुद कुकुरलाई विशेष तालिम दिएर सुरक्षा जिम्मेवारीमा परिचालन गर्नु प्रभावकारी भएको बताए।
उनका अनुसार गस्ती, सुरक्षा, ट्र्याकिङ, शंकास्पद व्यक्तिको खोजी तथा विस्फोटक पदार्थ पहिचानजस्ता काममा सैनिक कुकुरको भूमिका महत्त्वपूर्ण छ। कुकुरलाई निष्ठा, इमानदारी र बफादारिताको प्रतीकका रूपमा सम्मान गर्नु मौलिक परम्परा र दायित्व भएको उनले बताए।
नेपाली सेनाको भैरवबहान गुल्मले संयुक्त राष्ट्रसंघीय शान्ति मिसन, प्राकृतिक विपद्का बेला खोज तथा उद्धार, हतियार पहिचान र अपराधी पक्राउलगायतका सुरक्षा कार्यमा योगदान दिँदै आएको छ।
