काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले छत्तीसगढको बस्तरमा सुरक्षाकर्मीसँग दीपावली मनाएका छन्। सो अवसरमा उनले बस्तरको करनपुरस्थित कोब्रा अपरेसन बेसको भ्रमण गरी सहिद सुरक्षाकर्मीहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।
बस्तर र अबुझमाड क्षेत्रमा नक्सलविरोधी अभियान सञ्चालन गर्न कोब्रा बेसलाई तालिम केन्द्र तथा अभियानको आधारस्थलका रूपमा प्रयोग गरिँदै आएको छ।
सुरक्षाकर्मीसँगको भेटमा मोदीले उनीहरूको योगदानको प्रशंसा गर्दै देशभरका नागरिकले सुरक्षाकर्मीप्रति गर्व गर्ने बताए। उनले सीमामा खटिएर राष्ट्रको रक्षा गरिरहेका सैनिकहरूलाई समेत दीपावलीको शुभकामना दिए।
मोदीले नक्सली गतिविधि नियन्त्रणमा आए पनि त्यसको जोखिम पूर्ण रूपमा समाप्त नभएको दाबी गरे। उनले जंगलमा हतियार बोकेर सक्रिय नक्सलीहरू कमजोर भए पनि विभिन्न संस्था र संगठनमा ‘दिमागी नक्सली’को प्रभाव रहेको टिप्पणी गरे।
उनका अनुसार यस्ता व्यक्तिहरूले नागरिकलाई भारतीय संविधान र लोकतन्त्रविरुद्ध उक्साउने प्रयास गरिरहेका छन्। राजनीतिक दल तथा विभिन्न संस्थामा समेत उनीहरूको पहुँच रहेको दाबी गर्दै मोदीले त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरी नियन्त्रण गर्नुपर्ने बताए।
नक्सलविरोधी अभियानमा खटिएका सुरक्षाकर्मीको कामको प्रशंसा गर्दै उनले देशको सुरक्षा र लोकतान्त्रिक व्यवस्थाको संरक्षणमा उनीहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे।
