पर्सा । सेवाग्राहीलाई सहज, सरल र प्रभावकारी रूपमा न्यायिक सेवा उपलब्ध गराउने उद्देश्यले पर्सा जिल्ला अदालतले भौतिक पूर्वाधार तथा व्यवस्थापकीय सुधारका कामलाई तीव्रता दिएको छ।
न्यायालयमा आउने सर्वसाधारणलाई सुविधायुक्त वातावरण प्रदान गर्ने लक्ष्यसहित अदालतले विभिन्न संरचनागत सुधार र संस्थागत विकासका काम अघि बढाएको हो।
अदालत परिसरमा न्यायको मूर्ति स्थापना गर्नुका साथै महिला र पुरुष सेवाग्राहीका लागि छुट्टाछुट्टै शौचालय निर्माण गरिएको छ। त्यस्तै, न्यायाधीशको कार्यकक्षमा समेत शौचालयको व्यवस्था गरिएको छ। सेवाग्राही महिलाको सुविधालाई ध्यानमा राखेर स्तनपान कक्ष पनि स्थापना गरिएको अदालतले जनाएको छ।
यसैगरी, अदालतमा जफत गरिएका दुईवटा सवारीसाधन कार्यालयकै नाममा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ। भौतिक पूर्वाधार विस्तारका लागि थप नौ कट्ठा जग्गा प्राप्त गर्ने कामसमेत अगाडि बढाइएको छ।
अदालत परिसरमा रहेको खाली स्थानको उपयोग गर्दै कम्प्युटर अपरेटर कक्ष निर्माण गरिएको छ। सबै इजलासमा एसी जडान गर्नुका साथै अदालत भवनको रङ्गरोगन र सौन्दर्यीकरणको काम पनि सम्पन्न गरिएको छ।
रजिस्ट्रार तथा स्रेस्तेदार मल्लिकका अनुसार सेवाग्राही, न्यायाधीश र कर्मचारीलाई सहज वातावरण उपलब्ध गराउँदै न्यायिक सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले सुधारका कामलाई प्राथमिकता दिइएको हो।
अदालतमा भइरहेका यी सुधारले न्यायिक सेवा लिन आउने सर्वसाधारणलाई थप सहजता प्रदान गर्नुका साथै सेवा प्रवाहलाई सेवाग्राहीमैत्री बनाउने अपेक्षा गरिएको छ।
आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति विवरणअनुसार पर्सा जिल्ला अदालतले कुल मुद्दामध्ये ५७.६८ प्रतिशत फर्छ्योट गरेको छ।
अदालतका अनुसार दुई वर्षभन्दा बढी समयदेखि विचाराधीन मुद्दाको सङ्ख्या २४० छ भने १८ महिनाभन्दा बढी समयदेखि विचाराधीन मुद्दा ३३ वटा छन्। बालबालिकासम्बन्धी कुल ८२ मुद्दामध्ये ५४ वटा फर्छ्योट भएका छन् भने २८ वटा अझै बाँकी रहेका छन्।
