नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मधेसका समस्या, आवश्यकता र जनताको अपेक्षालाई सम्बोधन गर्ने गरी पार्टीको नीति तथा योजना तयार गर्नुपर्ने बताएका छन्।
बिहीवार जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै पौडेलले मधेसका वास्तविक समस्या स्थानीय नागरिकले नै राम्रोसँग बुझ्ने भएकाले उनीहरूले उठाएका विषय र सुझावलाई पार्टीको केन्द्रीय एजेण्डामा समावेश गर्नुपर्ने धारणा राखे।
पार्टीका योजना तथा कार्यक्रम जनताको आवश्यकता र अपेक्षासँग जोडिनुपर्ने उल्लेख गर्दै उनले मधेसका मुद्दालाई राष्ट्रिय राजनीतिको प्राथमिकतामा राख्नुपर्ने बताए।
कार्यक्रममा पौडेलले कांग्रेस सभापति गगनकुमार थापाको सम्भावित पक्राउको विषय उठाउँदै सरकारको कार्यशैली र कानुनी प्रक्रियामाथि प्रश्न गरेका छन्। विधिको शासनको अवस्था कमजोर बनेको अवस्थामा आफूहरू पनि पक्राउ पर्न सक्ने सम्भावना अस्वीकार गर्न नसकिने उनको भनाइ छ।
सभापति थालाबारे एक विचौलियाले दिएको भनिएको बयानप्रति पनि पौडेलले प्रश्न उठाए। सम्बन्धित व्यक्तिले प्रहरीसमक्ष त्यस्तो बयान दिएको भए प्रहरीले सार्वजनिक गरिसक्ने र सरकारले अदालतमा मुद्दा अघि बढाउन यति लामो समय नलगाउने उनको तर्क थियो।
कानुनी कारबाहीका नाममा कसैको मानमर्दन गर्ने वा राजनीतिक प्रतिशोध साँध्ने काम स्वीकार्य नहुने उनले बताए। सरकारका गलत गतिविधि र कानुन उल्लंघनविरुद्ध कांग्रेसले आफ्नो आवाज निरन्तर उठाइरहने उनको भनाइ छ।
दुई तिहाइ बहुमत प्राप्त हुँदैमा सरकारले आफूखुसी निर्णय गर्न नपाउने उल्लेख गर्दै पौडेलले सरकारविरुद्ध बोल्नेहरूलाई त्रास सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाए। कांग्रेस र पार्टी सभापति सरकारका गलत कामबारे आवाज उठाउन पछि नहटेको भन्दै उनले पार्टीमाथि भइरहेको व्यवहारलाई पनि सरकारको त्यही प्रवृत्तिसँग जोडेर टिप्पणी गरे।