काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा व्यहोरेको पराजयपछि पार्टीभित्र देखिएको निराशा र संगठनात्मक कमजोरी हटाउने उद्देश्यसहित नेकपा एमालेले मंसिर २ र ३ गते काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ ।
पार्टीको संगठनात्मक पुनर्संरचना, राजनीतिक कार्यदिशा र आगामी स्थानीय तह निर्वाचनको तयारीलाई मुख्य विषय बनाएर आयोजना गर्न लागिएको भेलाको तयारीलाई एमालेले तीव्र बनाएको छ ।
भेलाको व्यवस्थापन तथा तयारीबारे छलफल गर्न शुक्रबार पार्टी कार्यालय च्यासलमा महासचिव शंकर पोखरेलको उपस्थितिमा राष्ट्रिय भेला व्यवस्थापन समितिको बैठक बसेको थियो ।
दुईदिने भेलाको नेतृत्व पार्टीको संगठन विभागले गर्नेछ । संगठन विभाग प्रमुख तथा एमाले सचिव भानुभक्त ढकालले भेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।
उनका अनुसार भेलामा तीन हजारभन्दा बढी नेता, कार्यकर्ता तथा जनप्रतिनिधि सहभागी हुनेछन् । एमालेले यस भेलामार्फत पार्टीभित्र नयाँ उत्साह र जागरण सिर्जना गर्ने अपेक्षा गरेको छ ।
सचिव ढकालले भेलापछि संगठनात्मक काम गर्ने शैली र पार्टीको बुझाइमा एकरूपता आउने विश्वास व्यक्त गरे । पार्टीका नेता तथा कार्यकर्ताबीच साझा धारणा निर्माण गर्दै संगठनलाई थप व्यवस्थित बनाउने भेलाको उद्देश्य रहेको उनको भनाइ छ ।
आगामी स्थानीय तह निर्वाचनलाई समेत ध्यानमा राखेर भेलामा पार्टीबाट निर्वाचित स्थानीय जनप्रतिनिधिलाई सहभागी गराउन लागिएको एमालेले जनाएको छ । यसबाट स्थानीय तहमा पार्टीको वास्तविक अवस्था, संगठनको प्रभावकारिता र जनतासँगको सम्बन्धबारे जानकारी लिन सहज हुने नेताहरूको अपेक्षा छ ।
भेलामा गत असोज ५ देखि ८ गतेसम्म सम्पन्न केन्द्रीय कमिटी बैठकले तय गरेका कार्यभारबारे पनि विस्तृत छलफल हुने भएको छ ।
उक्त बैठकले आधारभूत वर्ग र समुदायसम्म पार्टी संगठन विस्तार गर्ने, योजनाबद्ध काम र मूल्यांकन प्रणालीलाई प्रभावकारी बनाउने तथा युवा र महिलालाई पार्टीको जिम्मेवारी, निर्णय प्रक्रिया र नेतृत्वमा स्थापित गर्ने निर्णय गरेको थियो ।
त्यसैगरी पार्टीको पुनर्जागरण, प्रतिपक्षको प्रभावकारी भूमिका, डिजिटल माध्यमबाट वैचारिक प्रतिवाद र निरन्तर राजनीतिक संघर्षलाई आगामी कार्यभारका रूपमा अघि सारिएको थियो ।
पार्टी पुनर्जागरण अभियानअन्तर्गत कार्यकर्ताको आत्मविश्वास बढाउने र जनतासँगको सम्बन्ध थप बलियो बनाउने एमालेको योजना छ । प्रतिपक्षको भूमिकालाई नागरिक अधिकार तथा जनजीविकाका सवालसँग जोड्ने र पार्टीका राजनीतिक एजेन्डालाई डिजिटल माध्यमबाट प्रभावकारी रूपमा प्रस्तुत गर्ने विषयमा समेत छलफल हुनेछ ।
एमालेका अनुसार भेलामा केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय निकायका प्रतिनिधि, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष, जनसंगठनका प्रतिनिधि तथा विभिन्न तहमा निर्वाचित जनप्रतिनिधिसहित कुल ३ हजार १६४ जना सहभागी हुनेछन् ।
भेलाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । उद्घाटन सत्रमा ओलीले वर्तमान राजनीतिक अवस्था, पार्टीको दृष्टिकोण र आगामी राजनीतिक कार्यदिशाबारे धारणा राख्ने तयारी छ ।
त्यस्तै, वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको व्यवस्थापन समितिका संयोजक ढकालले जानकारी दिएका छन् ।
भेलामा उपाध्यक्ष विष्णु पौडेलले एमाले नेतृत्वका सरकारले गरेका काम र उपलब्धिबारे प्रस्तुति दिनेछन् भने महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, संगठन सुदृढीकरण र आगामी निर्वाचनको कार्ययोजनासम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने तयारी छ ।
एमालेले राष्ट्रिय भेलालाई पार्टीभित्र साझा बुझाइ विकास गर्ने, संगठनलाई पुनः सक्रिय बनाउने र नेता–कार्यकर्तामा नयाँ ऊर्जा भर्ने अवसरका रूपमा लिएको छ । विशेषगरी आगामी वडा तथा पालिका अधिवेशनलाई एकताबद्ध र व्यवस्थित रूपमा सम्पन्न गर्न भेलाले सहयोग पुग्ने पार्टीको अपेक्षा छ ।
यसअघि असोज २२ गते बसेको एमाले स्थायी कमिटीको पहिलो बैठकले वडा कमिटीको अधिवेशन मंसिर २६ गते र पालिका कमिटीको अधिवेशन पुस ४ गते गर्ने निर्णय गरेको थियो । वडा र पालिका अधिवेशन सम्पन्न भएपछि प्रदेश अधिवेशन आयोजना गर्ने एमालेको तयारी छ ।
