काठमाडौं । ब्रह्माण्डको अहिलेसम्मकै सबैभन्दा विस्तृत थ्रीडी नक्सा निर्माण गर्ने अभियानमा जुटेको युरोपेली अन्तरिक्ष निकाय (ईएसए) को युक्लिड मिसनले पहिलो महत्त्वपूर्ण तथ्यांक सार्वजनिक गरेको छ ।
सार्वजनिक विवरणमा ९० करोडभन्दा बढी आकाशगङ्गा (ग्यालेक्सी), ६ करोडभन्दा बढी सम्भावित क्वासर र करिब १५ हजार दुर्लभ गुरुत्वीय लेन्सिङका सम्भावित घटना समेटिएका छन् । वैज्ञानिकहरूले यी तथ्यांकबाट ब्रह्माण्डको संरचना तथा डार्क म्याटर र डार्क इनर्जीबारे थप जानकारी प्राप्त हुने अपेक्षा गरेका छन् ।
सन् २०२३ जुलाईमा प्रक्षेपण गरिएको युक्लिड मिसनको लक्ष्य आकाशको करिब एकतिहाइ भाग अवलोकन गरी १० अर्ब वर्षभन्दा पुरानो ब्रह्माण्डीय इतिहासको नक्सा तयार पार्नु हो । ब्रह्माण्डको करिब ७० प्रतिशत हिस्सा ओगट्ने डार्क इनर्जी र २५ प्रतिशत हिस्सा रहेको डार्क म्याटरको प्रकृति बुझ्नु यस अभियानको प्रमुख उद्देश्य हो ।
युक्लिड मिसनको बेलायतस्थित विज्ञान शाखाका प्रमुख तथा एडिनबर्ग विश्वविद्यालयका प्राध्यापक एन्डी टेलरले अन्य ठूला खगोलीय सर्वेक्षण भए पनि युक्लिडले उपलब्ध गराउने जस्तो विस्तृत विवरण दुर्लभ रहेको बताएका छन् ।
हबल टेलिस्कोपले उच्च गुणस्तरका तस्बिर खिचे पनि त्यसले आकाशको सीमित क्षेत्र मात्र समेट्न सकेको उल्लेख गर्दै टेलरले युक्लिडले उच्च रिजोल्युसन कायम राखेर विशाल क्षेत्रको नक्साङ्कन गर्न सक्ने बताए ।
युक्लिडले अन्ततः अध्ययन गर्ने कुल क्षेत्रको करिब १४ प्रतिशत समेटिएको यो तथ्यांकलाई अनुसन्धानकर्ताहरूले महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् । टेलरले यसलाई अहिलेसम्मकै सबैभन्दा ठूलो उच्च रिजोल्युसनयुक्त ब्रह्माण्डीय तस्बिरका रूपमा व्याख्या गरेका छन् ।
सार्वजनिक तथ्यांकमा रहेका ६ करोडभन्दा बढी सम्भावित क्वासर अत्यन्त चम्किला खगोलीय पिण्ड हुन् । ती टाढाका ग्यालेक्सीको केन्द्रमा रहेका विशाल ब्ल्याक होलबाट सञ्चालित हुन्छन् ।
यस तथ्यांकको अर्को महत्त्वपूर्ण पक्ष करिब १५ हजार सम्भावित ‘स्ट्रङ ग्र्याभिटेसनल लेन्सिङ’ घटना पहिचान हुनु हो । यो प्रक्रिया तब हुन्छ, जब कुनै अग्रभागको ग्यालेक्सीको गुरुत्वाकर्षणले पछाडि रहेको ग्यालेक्सीबाट आउने प्रकाशको मार्ग मोडिदिन्छ । त्यस क्रममा पछाडिको ग्यालेक्सीको प्रकाश ठूलो, चम्किलो चाप वा घेराका रूपमा देखिन सक्छ ।
वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको सामान्य सापेक्षतावादको सिद्धान्तअनुसार ठूलो पिण्डले अन्तरिक्ष र समयलाई बङ्ग्याउँछ । यही प्रभावका कारण प्रकाशको मार्ग परिवर्तन हुने गर्छ । ग्यालेक्सीमा रहेको डार्क म्याटरले समेत गुरुत्वाकर्षण प्रभाव बढाउने भएकाले यस प्रक्रियाको अध्ययन डार्क म्याटरको प्रकृति बुझ्न उपयोगी मानिन्छ ।
टेलरका अनुसार गुरुत्वीय लेन्सिङको अध्ययनबाट डार्क म्याटरसम्बन्धी विभिन्न वैज्ञानिक सिद्धान्त परीक्षण गर्न सकिन्छ । ओपन युनिभर्सिटीका खगोल विज्ञानका प्राध्यापक स्टेफन सर्जेन्टले पनि यस प्रक्रियाले डार्क म्याटर कसरी विभिन्न स्थानमा जम्मा भएको छ भन्ने पत्ता लगाउन सहयोग गर्ने बताएका छन् ।
उनका अनुसार डार्क म्याटरको वास्तविक गुण र स्वरूप बुझ्ने आगामी अनुसन्धानमा गुरुत्वीय लेन्सिङ महत्त्वपूर्ण माध्यम बन्न सक्छ ।
यसअघि वैज्ञानिकहरूले यस्ता करिब एक हजार घटना मात्र पहिचान गरेका थिए । तर, युक्लिडको पछिल्लो तथ्यांकले १५ हजार सम्भावित घटना देखाएको छ । मिसन पूरा हुँदासम्म यस्ता घटनाको संख्या करिब एक लाख ७० हजार पुग्न सक्ने अनुमान गरिएको छ ।
टेलरका अनुसार आगामी वर्षको गर्मीयाममा युक्लिडको अर्को तथ्यांक सार्वजनिक गरिनेछ । त्यसमा ग्यालेक्सीहरूको वितरण र ‘विक ग्र्याभिटेसनल लेन्सिङ’ अर्थात् कमजोर गुरुत्वीय लेन्सिङसम्बन्धी विवरण समावेश हुनेछन् ।
ग्यालेक्सीको प्रकाशमा देखिने सूक्ष्म परिवर्तनको अध्ययन गरेर ब्रह्माण्डमा डार्क म्याटर कहाँ र कसरी फैलिएको छ भन्ने नक्सा तयार पार्न सकिने वैज्ञानिकहरूको अपेक्षा छ ।
युक्लिडले संकलन गरिरहेको तथ्यांकको मात्रा यति विशाल भइसकेको छ कि त्यसलाई मानिसको आँखाले मात्र हेरेर विश्लेषण गर्न सम्भव नहुने टेलरको भनाइ छ । यसबाट अहिलेसम्म अवलोकनमा नआएका थुप्रै खगोलीय वस्तु र परिघटना पत्ता लाग्ने अपेक्षा गरिएको छ ।
