यसका लागि महानगरले सम्पदाको व्यवस्थित अभिलेखीकरण, जनचेतना अभिवृद्धि र स्थानीय समुदायको क्षमता विकासलाई प्राथमिकतामा राख्ने भएको हो।
शुक्रबार काठमाडौं महानगरपालिकामा आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोलले हराएका तथा चोरी भएका धार्मिक र सांस्कृतिक सम्पदा पहिचान गरी स्वदेश फर्काउने अभियानलाई संस्थागत रूपमा अघि बढाउनुपर्ने बताइन्।
उनका अनुसार महानगरले यसअघि पनि कूटनीतिक पहल, विदेशस्थित विभिन्न संघसंस्था तथा नेपाली समुदायसँगको सहकार्यमा चोरी भएका सम्पदा फिर्ता ल्याउने प्रयास गर्दै आएको छ। अब यस्ता प्रयासलाई थप व्यवस्थित र औपचारिक बनाइनेछ।
डंगोलले सम्पदा संरक्षण भन्नाले भएका संरचना र मूर्तिको भौतिक सुरक्षा मात्र नभई चोरी तथा अवैध ओसारपसार नियन्त्रण गर्नु र विदेश पुगेका सम्पदालाई पहिचान गरी पुरानै स्थानमा पुनःस्थापना गर्नु पनि रहेको स्पष्ट पारिन्।
विदेशका विभिन्न संग्रहालयमा नेपाली सम्पदा रहेको जानकारी पाए पनि ती कुन स्थानबाट चोरी भएका हुन् भन्ने प्रमाण जुटाउन कठिन हुने गरेको उनको भनाइ छ। त्यसैले सम्पदाको तस्बिर, भिडियो, श्रव्यदृश्य सामग्री र अन्य आवश्यक विवरणसहितको अभिलेख तयार गर्नुपर्नेमा उनले जोड दिइन्।
पुराना तस्बिरकै आधारमा महागौरीको मूर्ति पहिचान गरी नेपाल फिर्ता ल्याउन र पुनःस्थापना गर्न सफल भएको उदाहरण प्रस्तुत गर्दै डंगोलले सम्पदाको पहिचान र प्रमाणीकरणमा अभिलेखीकरणको महत्त्व रहेको बताइन्।
उनले धार्मिक तथा सांस्कृतिक सम्पदा हराएमा तत्काल प्रहरीमा उजुरी गर्ने अभ्यास विकास गर्नुपर्ने आवश्यकता पनि औँल्याइन्। विगतमा मानिस हराउँदा प्रहरीमा जानकारी गराउने प्रचलन भए पनि भगवानका मूर्ति तथा धार्मिक सम्पदा हराउँदा औपचारिक उजुरी गर्ने अभ्यास कम रहेको उनले बताइन्।
तलेजु भवानीको हार फिर्ता ल्याउने प्रयासका क्रममा प्रहरीमा दर्ता गरिएको उजुरीको प्रमाण मागिएको तर त्यसबेला उजुरी गर्नुपर्ने विषयमा पर्याप्त जानकारी नभएकाले प्रमाण जुटाउन कठिन भएको उनले स्मरण गरिन्।
डंगोलले भनिन्, ‘सम्पदा चोरी भएको अवस्थामा तत्काल प्रहरीमा उजुरी गर्ने र त्यसको अभिलेख सुरक्षित राख्ने अभ्यास आवश्यक छ। पुरानो तस्बिरकै आधारमा महागौरीको मूर्ति पहिचान गरी फिर्ता ल्याउन सम्भव भएको उदाहरणले पनि अभिलेखीकरणको महत्त्व देखाउँछ।’
महानगरले सम्पदा संरक्षणसम्बन्धी जनचेतना अभियान आफ्नै जनप्रतिनिधि र कर्मचारीबाट सुरु गर्ने जनाएको छ। त्यसपछि नगर प्रहरी, फिल्डमा खटिने कर्मचारी, गुठी, विभिन्न संघसंस्था, टोल सुधार समिति र स्थानीय समुदायसम्म अभियान विस्तार गरिनेछ।
सम्पदा संरक्षणका क्रममा सामान्य प्राविधिक ज्ञानको अभावले पनि पुरातात्त्विक तथा धार्मिक संरचनामा क्षति पुग्न सक्ने भएकाले कर्मचारीलाई आवश्यक तालिम दिइने डंगोलले बताइन्।
उनका अनुसार कुन सम्पदामा कस्तो रङ प्रयोग गर्ने, कहाँ चुनाको प्रयोग उपयुक्त हुन्छ वा हुँदैन तथा चैत्यको संरचना र धार्मिक महत्त्व के हो भन्ने विषयमा फिल्डमा काम गर्ने कर्मचारीलाई जानकारी गराउन आवश्यक छ।
उनले सम्पदा संरक्षणमा स्थानीय समुदायको अपनत्व र सहभागिता सबैभन्दा महत्त्वपूर्ण हुने उल्लेख गर्दै सीसीटीभी क्यामेराबाट मात्रै सम्पदाको सुरक्षा सम्भव नहुने बताइन्। सम्पदा रहेका क्षेत्रका स्थानीय बासिन्दा नै सचेत र जिम्मेवार भए संरक्षण अभियान प्रभावकारी हुने उनको भनाइ छ।
यसका लागि महानगरले समुदायको क्षमता अभिवृद्धि कार्यक्रमसमेत सञ्चालन गर्ने भएको छ। सम्पदा संरक्षणमा प्राविधिक ज्ञान भएका विज्ञ तथा यस क्षेत्रमा क्रियाशील संस्थाको सहयोग लिएर कर्मचारी र स्थानीय समुदायलाई प्रशिक्षित गरिनेछ।
प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको नमूना फाउन्डेसनसँगको सहकार्यलाई पनि महानगरले निरन्तरता दिने जनाएको छ। कार्यवाहक प्रमुख डंगोलले सम्पदा संरक्षणका लागि फाउन्डेसनबाट आगामी दिनमा थप प्राविधिक सहयोग प्राप्त हुने विश्वास व्यक्त गरिन्।
महानगरले यसअघि कार्यान्वयनमा ल्याएको ‘सम्पदा नगर प्रहरी’ अवधारणालाई समेत विस्तार गर्ने भएको छ। सम्पदाको सुरक्षा, निगरानी र संरक्षणमा नगर प्रहरीको भूमिका थप प्रभावकारी बनाइने डंगोलले जानकारी दिइन्।
महानगरका अनुसार चोरी भएका सम्पदाको पहिचान, अवैध ओसारपसार नियन्त्रण, विदेशबाट फिर्ती, मौलिक स्थानमा पुनःस्थापना र पुनःस्थापित सम्पदाको दीर्घकालीन सुरक्षालाई चरणबद्ध रूपमा अघि बढाइनेछ।
महानगरको यो पहलले काठमाडौं उपत्यकाबाट चोरी भएर विदेश पुगेका नेपाली ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा स्वदेश फर्काउने अभियानलाई थप व्यवस्थित र संस्थागत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
