संयुक्त मधेशी सेवा समाज नेपाल र छठ पूजा समारोह समितिको आयोजनामा हुने पूजामा यस वर्ष ५० देखि ६० हजारभन्दा बढी भक्तजन सहभागी हुने अनुमान गरिएको छ। श्रद्धालुको सम्भावित चापलाई ध्यानमा राख्दै आयोजकले यसपटक पूजा स्थलमा पण्डालको आकारसमेत बढाएका छन्।
संयुक्त मधेशी सेवा समाज नेपाल मकवानपुरका सचिव नन्दलाल दासका अनुसार सामूहिक पूजाका लागि २० फिट चौडाइ र ७०० फिट लम्बाइका ६५ वटा पण्डाल निर्माण गरिएको छ। पूजा अवधिमा नदी किनारमा भक्तजनको भीड बढ्ने भएकाले सुरक्षा, आवतजावत र अन्य व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको उनले बताए।
व्रतालुहरू सूर्यलाई अर्घ्य दिन नदीसम्म पुग्नुपर्ने भएकाले आवतजावत सहज बनाउन आवश्यक व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।
यस वर्ष छठ पूजा स्थलमा सवारीसाधनको चाप व्यवस्थापन गर्न छुट्टै आवागमन मार्ग निर्धारण गरिएको छ। पैदल जाने श्रद्धालुहरूले राप्ती रोड हुँदै पूजा स्थलमा प्रवेश गर्न सक्नेछन्। सवारीसाधन प्रयोग गरेर आउने व्रतालु तथा दर्शनार्थीका लागि भने चौकीटोलस्थित लोकप्रिय होटल चोकबाट तरकारी मण्डी हुँदै छठघाट पुग्ने मार्ग तय गरिएको सचिव दासले बताए। उक्त मार्ग निर्माणको कामसमेत भइरहेको उनले जानकारी दिए।
त्यसैगरी, सवारीसाधन पार्किङका लागि तरकारी मण्डी पछाडिको फुटबल मैदानमा व्यवस्था मिलाइएको छ।
चार दिनसम्म मनाइने छठ पर्व शुक्रबार, कात्तिक २७ गते नहाय–खाय विधिबाट सुरु हुनेछ। पर्वको दोस्रो दिन शनिबार व्रतालुले खरना विधि सम्पन्न गर्नेछन्। तेस्रो दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिनेछ भने अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व समापन हुनेछ।
