आगामी २०औँ एसियाली खेलकुदमा सबैभन्दा आशा गरिएकी नेपाली कराते खेलाडी एरिका गुरुङले आफ्नो मेहनतअनुसार नतिजा आउने विश्वास व्यक्त गर्दै आफ्ना सहकर्मीलाई सकारात्मक हुन आग्रह गरेकी छन् ।
आगामी २०औँ एसियाली खेलकुदका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार आयोजित बिदाइ कार्यक्रममा एरिकाले आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने र त्यहीअनुरूप नतिजा आउने आशा व्यक्त गरेकी हुन् । उनले एसियन गेम्सको प्रतिस्पर्धालाई जीवनकै सबैभन्दा महत्वपूर्ण क्षणका रूपमा लिएर खेल्नुपर्ने बताइन् । आफ्नो भविष्यबारे नसोची देश र लक्ष्यमा ध्यान दिएर खेल्ने उनको विश्वास छ ।
एरिकाले एसियन गेम्सको प्रतिस्पर्धालाई खेलाडीहरूले उत्साह र उमङ्गका रूपमा लिएको बताइन् । गत १९औँ एसियन गेम्सकी रजत पदक विजेता एरिकाले आगामी एसियन गेम्समा सहभागी हुन जाँदा राज्यका विभिन्न निकायको उपस्थिति र सहयोगले थप उत्साह मिलेको बताइन् ।
आगामी २०औँ एसियाली खेलकुद जापानको नागोया–आइचीमा सेप्टेम्बर १७ देखि अक्टोबर ४ तारिखसम्म आयोजना हुँदैछ । नेपालको करातेबाट उक्त एसियन गेम्समा सबैभन्दा धेरै पदकको आशा गरिएको छ । जापानमा करिब दुई हप्ता तयारी गर्ने उद्देश्यसहित नेपाली कराते टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ । यसपटकको एसियन गेम्सका लागि आयोजक राष्ट्र जापान जाने नेपाली कराते टोली नेपालका २२ खेलमध्ये पहिलो हो ।
नेपाली कराते टोलीलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित मेहता तथा नेपाल कराते महासंघका पदाधिकारीले बिदाइ गरेका थिए ।
सो अवसरमा खेलकुदमन्त्री सस्मित पोखरेलले देशलाई गर्व गराउने लक्ष्यसहित एसियन गेम्समा प्रतिस्पर्धा गर्न जाने खेलाडीप्रति आफू गर्वित रहेको बताए । राज्यले खेलाडीबाट धेरै ठूलो अपेक्षा नराखेको, तर खेलाडीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको मन्त्री पोखरेलले बताए ।
नतिजाका बारेमा धेरै नसोची आफ्नो उत्कृष्ट प्रदर्शनमा ध्यान दिएर खेल्नुपर्नेमा जोड दिँदै मन्त्री पोखरेलले जित र हारलाई राज्यले समान रूपमा लिने बताए । खेलाडीले यस यात्राका लागि गरेको मेहनतबारे राज्य जानकार रहेको उनको भनाइ छ ।
खेलाडीका आशा र माग सीमित भए पनि राज्यले त्यसलाई पूरा गर्न नसकेको मन्त्री पोखरेलले स्वीकार गरे । खेलाडीले राज्यबाट पाउने सेवासुविधा भिआइपीसरह पाउने व्यवस्था गरिने पनि उनले स्पष्ट पारे ।
नेपाली टोलीका कुमुते प्रशिक्षक कुशल श्रेष्ठले यसपटक फरक वातावरणका बीच एसियन गेम्समा प्रतिस्पर्धा गर्न लागेको भन्दै सम्मानित महसुस भएको बताए । जापानको हावापानी र खानपानमा खेलाडीलाई घुलमिल गराउने उद्देश्यले केही समय अगावै जापान जान लागेको उनले बताए ।
‘मिसन २०२६’ अन्तर्गत लामो समयदेखि प्रशिक्षण गर्दै आएकाले तयारी कम भयो भन्ने छुट कसैलाई नहुने प्रशिक्षक श्रेष्ठको भनाइ छ । निश्चित नतिजा आउने भन्न नसकिने भए पनि विगतको भन्दा राम्रो प्रदर्शन गर्ने गरी मेहनत गर्ने उनले बताए ।
नेपाली करातेका काताका प्रशिक्षक मन्डेकाजी श्रेष्ठले ‘मिसन २०२६’ अन्तर्गत लामो समयदेखि तयारी गरिरहेकाले त्यसले सबै खेलाडीलाई मद्दत पुग्ने बताए । बन्द प्रशिक्षणले पनि खेलाडीलाई थप प्रोत्साहन मिलेको उनको भनाइ छ ।
पहिलोपटक देशको झन्डासहित अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन जाने खेलाडीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा भिआइपी कक्षको सुविधा दिइनुले सबैको मनोबल बढेको प्रशिक्षक मन्डेकाजीले बताए । जापानमा पनि राम्रो प्रशिक्षणस्थलमा तयारी गर्ने र त्यहाँ १०–१२ दिनको प्रशिक्षणपछि नागोया जाने उनले बताए । तयारीका आधारमा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने उनको आशा छ ।
एसियन गेम्सका लागि करातेका आठ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । कातातर्फ नेपालले दुई विधामा प्रतिस्पर्धा गर्दैछ । महिला टिम काता र एकल कातामा नेपालको चुनौती रहनेछ ।
व्यक्तिगत कातामा सानुमाया थिङ तथा टिम कातामा उनीसँगै मेघा लिम्बू र एलिसा रास्कोटी मगरले प्रतिस्पर्धा गर्नेछन् । कातामा मन्डेकाजी श्रेष्ठ र कुमुतेतर्फ कुशल श्रेष्ठ प्रशिक्षक छन् ।
कुमुतेमा एरिकासँगै राकेश मानन्धर, मीनबहादुर तामाङ, तेन्जिन शेर्पा र निरुपा दोङले प्रतिस्पर्धा गर्नेछन् ।
