काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको फुर्के खोला र मलेखुको बीचमा पर्ने परेवा भीरमा अवरुद्ध सडक पुनः सञ्चालनका लागि मर्मत कार्यलाई तीव्रता दिइएको छ।
गत भदौ १० गते र त्यसपछिको त्रिशूली नदीको बाढीका कारण सडकको एक हिस्सा भासिएपछि उक्त खण्डमा यातायात सेवा प्रभावित हुँदै आएको थियो। सडक विभागका अनुसार हाल उक्त स्थानमा सडकको ग्रेड मिलाउने तथा सतह सम्याउने कार्य प्राविधिक टोलीले गरिरहेको छ।
नदीको कटान र सडक भासिएका कारण जोखिमपूर्ण बनेको यस खण्डलाई सुरक्षित रूपमा सञ्चालनमा ल्याउन आवश्यक पूर्वाधार निर्माण तथा मर्मतलाई प्राथमिकतामा राखिएको छ। मौसम अनुकूल रहेमा आज साँझसम्म सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने विभागको तयारी छ।
देशको मुख्य जीवनरेखा मानिने पृथ्वी राजमार्गको यो खण्ड अवरुद्ध हुँदा यात्रुले निकै सास्ती खेप्नुपरेको छ। सडक मर्मत सम्पन्न भई यातायात पुनः सुरु भएमा यस क्षेत्रमा सवारी चाप कम हुने र आवागमन सहज हुने विश्वास लिइएको छ।
–न्युज एजेन्सी नेपाल
