धनगढी । अविरल वर्षापछि आएको पहिरोले बाजुराको बडीमालिका नगरपालिका–९ मा आधा दर्जनभन्दा बढी घरमा क्षति पुर्याएको छ।
घरमाथिबाट खसेको पहिरोले मोती उखेडा, धनबहादुर विक, तुले विक, परे थापा, जंग उखेडा र दीपक विकलगायतका घरमा क्षति पुगेको हो। पहिरोका कारण केही घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
पहिरोले घरसँगै गोठमा समेत क्षति पुर्याउँदा मोती उखेडाका दुईवटा गोरु मरेका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराका अनुसार पहिरोबाट घर तथा गोठमा क्षति पुगे पनि हालसम्म मानवीय क्षति भने भएको छैन।
पहिरो घरभित्रै पस्दा भाँडाकुँडा, लत्ताकपडा, अन्नपातलगायतका सामग्रीमा क्षति पुगेको छ। घरमा पहिरो पसेपछि प्रभावित परिवार जोखिममा परेका छन्।
अविरल वर्षाका कारण जिल्लाका अन्य स्थानमा समेत बाढी, पहिरो र डुबानबाट क्षति भएको प्रारम्भिक विवरण प्राप्त भइरहेको प्रहरीले जनाएको छ। अन्य क्षेत्रमा भएको क्षतिको यकिन विवरण भने आउन बाँकी छ।
वर्षा अझै जारी रहेकाले पहिरोको जोखिममा रहेका बस्ती तथा परिवारलाई सतर्क रहन र सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा बस्न प्रहरीले आग्रह गरेको छ।
