काठमाडौं । सामान्य दिनमा कक्षा ५ का मनिष बस्नेत यतिबेला विद्यालयको बेन्चमा बसेर पढिरहेका हुन्थे। कहिले गणितका हिसाब मिलाउँदै त कहिले नेपालीका कविता पढ्दै। तर पछिल्ला केही दिनयता उनको हातमा किताब–कापी होइन, घरको खाली ग्यास सिलिण्डर छ।
काठमाडौंको एक साँघुरो गल्लीमा सयौँ एलपीजी ग्यास सिलिण्डर फलामे सिक्री र ताल्चाले बाँधेर सडकको पेटीमा राखिएका छन्। त्यही सिलिण्डरको लाममा मनिष पनि बसेका छन्—ग्यास आउने प्रतीक्षामा।
शनिवारदेखि लाइनमा बसेका मनिषले ग्यास नपाएकै कारण विद्यालय जानसमेत सकेका छैनन्। घरको चुलो निभेपछि ग्यासको सिलिण्डर पाउन उनी विद्यालयबाट एक दिनको बिदा लिएर लाइनमा बसेका थिए। तर एक दिनको बिदा चार दिनको गैरहाजिरीमा परिणत हुँदै गएको छ।
‘ग्यास छैन । ग्यास पाएन । ग्यास छैन भनेकाले स्कुल नि जान पाएन । १ दिनको छुट्टी लिएर यहाँ आएको छु,’ मनिषले भने, ‘अब ग्यास आएन भने पछाडिको मान्छेले आफ्नो ग्यास अगाडि लान्छन्। शनिवारदेखि बसिरहेको छु। मंगलवारसम्म आउँछ, बसिराख्नु भनेको छ।’
मनिषका आमाबुबा काममा जानुपर्ने भएकाले घरबाट उनलाई लाइनमा बस्न पठाइएको हो। एकछिनका लागि लाइन छाड्दा आफ्नो सिलिण्डर पछाडि धकेलिन सक्ने डरले उनी निरन्तर त्यहीँ बसिरहेका छन्।
डिपोको सटर खुलेको छैन। ग्यास आउने आशामा उपभोक्ताहरू सिलिण्डरसहित सडकमा कुरिरहेका छन्। बालबालिकादेखि वृद्धसम्म लाममा देखिन्छन्।
सरकार र सम्बन्धित निकायले बजारमा ग्यासको अभाव नरहेको र केही दिनमै अवस्था सामान्य हुने बताउँदै आएका छन्। तर सडकको दृश्य भने फरक छ। ग्यासको खोजीमा उपभोक्ताहरू घण्टौँदेखि होइन, दिनौँदेखि लाइनमा बस्न बाध्य छन्।
सबैभन्दा मारमा भने विद्यालय जाने उमेरका बालबालिका परेका छन्। घरको चुलो बाल्नुपर्ने बाध्यताले उनीहरूको पढाइसमेत प्रभावित भएको छ।
मनिषको हातमा हुनुपर्ने किताब अहिले घरको खाली सिलिण्डरसँग साटिएको छ। कक्षाकोठामा शिक्षकले दिएको गृहकार्य उनको कापीमा पर्खिरहेको छ भने उनी सडकमा ग्यास आउने प्रतीक्षामा छन्।
ग्यास कहिले आउँछ भन्ने निश्चित छैन। तर एउटा सिलिण्डरका लागि विद्यालय छाडेर लाइनमा बसेको मनिषको समय भने फर्केर आउने छैन।
बालबालिकाले विद्यालयमा भविष्य खोज्नुपर्ने समयमा आधारभूत आवश्यकताका लागि सडकको लाइनमा बस्नुपर्ने अवस्था आउनु केवल ग्यास अभावको समस्या होइन, नागरिकको दैनिक जीवनसँग जोडिएको गम्भीर प्रश्न हो।
— न्युज एजेन्सी नेपाल
