काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोसी बाढीपछि सरकारले खोज, उद्धार र राहतमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन्।
आइतबार पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समितिको बैठकमा बाढीबाट भएको क्षतिको समीक्षा गर्दै प्रचण्डले सरकारले विपद्को समयमा ‘हिरोइजम’ मात्र देखाएको टिप्पणी गरेका हुन्।
उनले प्रधानमन्त्रीको भूमिका सामाजिक सञ्जालमा स्टाटस लेख्ने र गृहमन्त्रीको काम सुरुङमा उद्धार खोज्नमै सीमित भएको आरोप लगाए। विपद्का बेला प्रधानमन्त्रीले सबै राजनीतिक दलसँग समन्वय गर्नुका साथै अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि पहल गर्नुपर्नेमा त्यस्तो प्रयास नदेखिएको उनको भनाइ छ।
प्रचण्डले सरकारको गतिविधि ‘बच्चापना’पूर्ण देखिएको भन्दै ‘यसरी देश चल्दैन’ भन्ने टिप्पणीसमेत गरे। सरकारको गतिविधि नजानेरभन्दा पनि राजनीतिक उद्देश्यबाट प्रेरित भएको देखिएको उनले आरोप लगाए।
