राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले पार्टीको आगामी महाधिवेशन कुनै कारण वा बहानामा नरोकिने स्पष्ट पारेका छन् ।
मङ्सिर २६, २७ र २८ गते हुने महाधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्दै त्यसलाई पार्टी पुनर्निर्माणको अवसरका रूपमा उपयोग गर्नुपर्ने उनले बताए । आइतबार काठमाडौंमा आयोजित राप्रपा काठमाडौं जिल्ला अधिवेशनमा बोल्दै लिङदेनले पार्टीभित्र देखिएका कमजोरी सच्याएर नयाँ ढङ्गले अघि बढ्नुपर्ने बताए ।
विगतका गल्ती र कमी–कमजोरीलाई निरन्तरता दिने प्रयास भइरहेको भन्दै त्यसको अन्त्य गर्नुपर्ने उनको भनाइ छ । लिङदेनले नेकपा एमालेको नाम नै लिएर राजनीतिक दलहरू अझै नसुध्रिएको भन्दै सांसद खरिद–बिक्री गरेको आरोप लगाए । वागमती प्रदेश सरकार निर्माणका लागि एमालेले राप्रपाका सांसद किनेको उनको आरोप छ । ठूलो राजनीतिक परिवर्तन र विद्रोहपछि पनि यस्ता विकृति दोहोरिनु दुर्भाग्यपूर्ण भएको उनले बताए ।
वागमती प्रदेशमा पछिल्लो समय देखिएको राजनीतिक घटनाक्रमको प्रसङ्ग उल्लेख गर्दै उनले अरूलाई मात्रै दोष दिनुभन्दा आफ्नै पार्टीको कमजोरी पनि हेर्नुपर्ने बताए । ‘आफ्नै थैलो हामीले राम्रो बाँध्न नसकेपछि उनीहरूलाई मात्रै के भन्ने ? आफ्नै मान्छे खसी–बाख्रा जस्तो बिक्री हुन तयार भएपछि हामीले के भन्ने ?’ उनको प्रश्न छ ।
लिङदेनले पार्टीको टिकट र मनोनयनबाट निर्वाचित सांसदले व्यक्तिगत रूपमा नभई पार्टीको प्रतिनिधिका रूपमा काम गर्नुपर्ने बताए । पार्टीको नामबाट चुनाव जितेर निर्वाचित भएका सांसदले पार्टीको निर्णयविपरीत आफूखुसी अर्को दलसँग मिल्ने वा जाने काम कुनै पनि हालतमा स्वीकार्य नहुने उनको भनाइ छ ।
यस्ता विकृति अन्त्य गर्न कार्यकर्ता पङ्क्ति एकताबद्ध भएर पार्टीलाई साथ दिनुपर्ने उनले बताए । पार्टीभित्र सांसदको व्यक्तिगत स्वार्थ र दल परिवर्तनको प्रवृत्ति कायम रहेसम्म बलियो पार्टी निर्माण गर्न नसकिने तथा जनताले पनि विश्वास नगर्ने उनको भनाइ छ ।
उनले भने, ‘आउँदै गरेको मङ्सिर २६, २७ र २८ गतेको महाधिवेशन कुनै कारण वा बहानामा रोकिनेवाला छैन । यसलाई भव्यतापूर्वक सम्पन्न गर्दै पार्टी निर्माणको महत्वपूर्ण अवसरका रूपमा उपयोग गरौँ । अहिले अरूलाई मात्र गाली गरेर वा दोष दिएर हुँदैन । एमालेजस्तो पार्टीले विगतका विकृति सच्याउन नसकेको र फेरि सांसद खरिद–बिक्रीको अभ्यास दोहोर्याएको देखिन्छ । तर आफ्नै थैलो राम्रोसँग बाँध्न नसकेर अरूलाई मात्र दोष दिनु पनि उचित हुँदैन । आफ्नै मान्छे बिक्री हुन तयार भएपछि हामीले पनि आत्मसमीक्षा गर्नुपर्छ । म कार्यकर्ता र नेतृत्व पङ्क्तिलाई स्पष्ट रूपमा भन्न चाहन्छु–कुनै पनि सांसद व्यक्तिगत हुँदैन, ऊ पार्टीको प्रतिनिधि हो । पार्टीको टिकट र मनोनयनबाट उम्मेदवार बनेर पार्टीकै नाममा चुनाव जितेपछि आफूखुसी निर्णय गर्दै पार्टीविपरीत अन्य दलसँग जाने कुरा कुनै पनि हालतमा स्वीकार्य हुँदैन । यस्ता राजनीतिक विकृतिको अन्त्य गर्न सम्पूर्ण कार्यकर्ता पङ्क्तिले पार्टीलाई साथ दिनुपर्छ । जबसम्म यस्ता विकृति जीवित रहन्छन्, हामी बलियो पार्टी बनाउन सक्दैनौँ र जनताको विश्वास पनि जित्न सक्दैनौँ । विगतका गल्ती र कमजोरीलाई दोहोर्याउने प्रवृत्तिको अब अन्त्य हुनुपर्छ । त्यसको समूल अन्त्यका लागि सम्पूर्ण कार्यकर्ता पङ्क्ति एकताबद्ध भएर अघि बढ्न म आग्रह गर्दछु ।’
विगतमा भएका गल्ती, कमी–कमजोरी र विकृतिलाई पछिल्लो समय पनि निरन्तरता दिने प्रयास भइरहेको भन्दै लिङदेनले त्यसको ‘समूल अन्त्य’ आवश्यक रहेको बताए । उनले पार्टीलाई बलियो बनाउन सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे ।
