स्याङ्जा । वालिङस्थित वालिङ नगर अस्पतालको सञ्चालन खर्च प्रदेश सरकारले व्यहोर्न नसक्ने निर्णय गरेपछि यसको सञ्चालन र व्यवस्थापनलाई लिएर विवाद उत्पन्न भएको छ।
वालिङ नगरपालिका–१ रामवाच्छामा अस्पतालका लागि आवश्यक भवन निर्माण पूरा भइसके पनि अस्पताल अझै नियमित रूपमा सञ्चालनमा आउन सकेको छैन। स्थानीय तहअन्तर्गत सञ्चालन हुँदै आएको अस्पताललाई स्तरोन्नति गरी गण्डकी प्रदेश सरकारको मातहतमा ल्याउने प्रक्रिया यसअघि अघि बढाइएको थियो।
वालिङ नगरपालिकाको २०८१ भदौ २६ गते बसेको कार्यपालिका बैठकले नगर अस्पताललाई थप व्यवस्थित र स्तरोन्नति गर्दै प्रदेश सरकारअन्तर्गत सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले स्तरोन्नतिको सम्भाव्यता अध्ययनका लागि समिति गठन गरेको थियो।
यसअघि गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा प्रदेशअन्तर्गत रहेका अस्पताललाई आवश्यकता र औचित्यका आधारमा स्तरोन्नति गर्ने योजना समेत समावेश गरिएको थियो।
तर पछिल्लो समय प्रदेश सरकारले वालिङ नगर अस्पतालको सञ्चालन खर्च व्यहोर्न नसक्ने निर्णय गरेपछि स्थानीय तह र प्रदेश सरकारबीच अस्पतालको भविष्य तथा सञ्चालन व्यवस्थापनबारे प्रश्न उठेको छ।
अस्पतालका लागि भौतिक पूर्वाधार तयार भइसकेको अवस्थामा सञ्चालन खर्चको जिम्मेवारीबाट प्रदेश सरकार पछि हटेपछि स्थानीय स्तरमा समेत असन्तुष्टि बढेको बताइएको छ।
