काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल चीन भ्रमणका लागि प्रस्थान गरेका छन्। उनी २८ भदौदेखि ३ असोजसम्म चीनमा रहनेछन्।
भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले बेइजिङमा आयोजना हुने १३औं बेइजिङ स्याङसन फोरममा सहभागिता जनाउने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।
सिग्देलको चीन भ्रमणलाई दुई देशबीचको सैनिक सम्बन्धलाई थप मजबुत बनाउने अवसरका रूपमा हेरिएको छ। सैनिक कूटनीतिमार्फत नेपाल र चीनबीचको सम्बन्ध विस्तारसँगै नेपालको समग्र परराष्ट्र नीतिमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
प्रधानसेनापति चीनमा रहँदा नेपाली सेनाको दैनिक नेतृत्वको जिम्मेवारी बलाधिकृत रथी प्रदीप जंग केसीले सम्हाल्नेछन्।
चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी केसीले प्रधानसेनापति सिग्देललाई बिदाइ गरेका थिए।
