काठमाडौं । १० भदौमा रसुवाको भोटेकोशी क्षेत्रमा आएको हिमबाढीबाट नुवाकोट सबैभन्दा बढी प्रभावित भएको सरकारी अध्ययनले देखाएको छ।
सरकारले तयार गरेको ‘रसुवा–भोटेकोशी बाढी २०८३ : द्रुत क्षति तथा आवश्यकता आकलन’ प्रतिवेदनअनुसार बाढीका कारण पाँच जिल्लाका ७ हजार ५७० घरमा क्षति पुगेको छ।
क्षतिग्रस्त घरमध्ये नुवाकोटमा मात्रै ३ हजार ९७७ वटा छन्। रसुवामा १ हजार ७७९, धादिङमा १ हजार ४५१, गोरखामा २६३ र चितवनमा १०० घरमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ।
३२ हजारभन्दा बढी मानिस प्रभावित
बाढीबाट पाँच जिल्लाका १५ स्थानीय तहमा गरी ८ हजार ३१७ घरपरिवार प्रभावित भएका छन्। नुवाकोटमा मात्रै ४ हजार ४१८ परिवार प्रभावित भएको तथ्यांक छ।
त्यस्तै, रसुवामा १ हजार ९२३, धादिङमा १ हजार ५८८, गोरखामा २७४ र चितवनमा ११४ परिवार बाढीबाट प्रभावित भएका छन्।
प्रतिवेदनअनुसार बाढीको प्रत्यक्ष प्रभावमा परेको कुल जनसंख्या ३२ हजार ९६३ छ। यसमध्ये नुवाकोटका १७ हजार ८२ जना प्रभावित भएका छन्।
रसुवामा ७ हजार ६३३, धादिङमा ६ हजार ६३८, गोरखामा १ हजार ९६ र चितवनमा ५१४ जना प्रभावित भएको सरकारी तथ्यांक छ।
भोटेकोशी हिमबाढीले यी पाँच जिल्लाका कुल १५ स्थानीय तहमा प्रभाव पारेको प्रतिवेदनले जनाएको छ।
