काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले सरकारले अध्यादेशमार्फत ट्रेड युनियन र विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाएको भन्दै आपत्ति जनाएका छन्।
शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै ढुंगानाले सरकारको उक्त कदमले मुलुकलाई पुनः निर्दलीय व्यवस्थातर्फ धकेल्न खोजिएको आशंका व्यक्त गरे। निर्दलीय व्यवस्था सञ्चालन गर्न खोजिएको भए आफूहरू लोकतन्त्रका लागि पुनः बलिदान दिन तयार रहेको उनले बताए।
उनले २००३ सालको विराटनगर जुट मिल आन्दोलन तथा बीपी कोइराला, मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइरालाले प्रजातन्त्रका लागि भोगेको जेल जीवन स्मरण गर्दै वर्तमान राजनीतिक व्यवस्था विभिन्न आन्दोलनको जगमा स्थापित भएको बताए।
पछिल्लो ३५ वर्षमा मुलुकमा केही पनि काम नभएको भन्ने प्रचार गलत भएको भन्दै ढुंगानाले सडक, अस्पताल, विद्यालय तथा विश्वविद्यालय निर्माणमा उल्लेख्य प्रगति भएको दाबी गरे। उनले तथ्यांक हेरेर मात्र मुलुकको अवस्थाबारे धारणा बनाउन र नकारात्मक भ्रम नफैलाउन आग्रह गरे।
अर्थतन्त्रका विषयमा उनले वर्तमान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेकै विगतको अभिव्यक्ति स्मरण गराउँदै महेश आचार्य र डा. रामशरण महत अर्थमन्त्री भएका बेला नेपालको अर्थतन्त्रले गति लिएको बताए।
ढुंगानाले निर्वाचनका क्रममा जनकपुरमा प्रधानमन्त्री बालेन्द्र साहले दिएको अभिव्यक्तिमाथि समेत प्रश्न उठाए। प्रधानमन्त्रीले जनकपुरमा एउटा र काठमाडौंमा अर्को कुरा गर्ने गरेको भन्दै उनले संघीयताका विषयमा सरकारको धारणा स्पष्ट हुनुपर्ने बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ संकेत गर्दै उनले संघीयता खारेज गर्ने प्रस्ताव ल्याउनेहरूसँग सरकारले गरेको सहकार्यले जनतामा अविश्वास पैदा गरेको दाबी गरे।
‘अध्यादेशमार्फत ट्रेड युनियन र विद्यार्थी युनियनहरू बन्द गरेर के तपाईं निर्दलीय व्यवस्था चलाउन खोज्नुभएको हो ? यदि त्यसो हो भने हामी लोकतन्त्रका लागि पुनः बलिदानी दिन तयार छौँ,’ ढुंगानाले भने।
सुशासनका नाममा हुने अराजक गतिविधि र सार्वजनिक सम्पत्तिको तोडफोडप्रति समेत उनले असन्तुष्टि जनाए। जेनजी प्रदर्शनका क्रममा सिंहदरबार, राष्ट्रपति भवन, संसद् भवन, अदालत तथा नेताहरूका निजी निवासमा भएको आगजनी र आक्रमण गैरजिम्मेवारपूर्ण कार्य भएको उनको टिप्पणी थियो।
मुलुकको राष्ट्रियता कमजोर हुँदै गएको भन्दै उनले भाषा, संस्कृति र सभ्यतामाथि भइरहेको प्रहारप्रति सबै सचेत हुनुपर्नेमा जोड दिए। सरकारले गालीगलौजमा उत्रिनुभन्दा जिम्मेवार भएर काम गर्नुपर्ने सुझावसमेत उनले दिए।
