संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ६३औँ अधिवेशनका क्रममा जेनेभास्थित प्यालेस अफ नेसन्समा ‘सबैका लागि पहुँचयोग्यता’ विषयक प्रदर्शनी आयोजना गरिएको छ।
चीनको संयुक्त राष्ट्रसंघ तथा जेनेभास्थित अन्य अन्तर्राष्ट्रिय संगठनका लागि स्थायी नियोग र संयुक्त राष्ट्रसंघको जेनेभास्थित कार्यालयको सहआयोजनामा भएको कार्यक्रममा स्थायी प्रतिनिधि, अन्तर्राष्ट्रिय संगठनका प्रमुख तथा सञ्चारमाध्यमका प्रतिनिधिसहित ३ सयभन्दा बढी व्यक्तिको सहभागिता थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै जेनेभास्थित संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संगठनका लागि चीनका स्थायी प्रतिनिधि जिया गाइडले पहुँचयोग्य वातावरणको विकास मानवअधिकार संरक्षणको महत्वपूर्ण पक्ष भएको बताए।
‘ग्लोबल गभर्नेन्स इनिसिएटिभ’बाट निर्देशित हुँदै चीनले संयुक्त राष्ट्रसंघीय मञ्चहरूमा सबैका लागि पहुँचयोग्य वातावरणको अवधारणालाई सक्रिय रूपमा अघि बढाउँदै आएको उनले उल्लेख गरे।
प्रदर्शनीमा प्रविधि, संस्कृति, रोजगारी, कानुनी शासनलगायत विभिन्न क्षेत्रमा सबैका लागि पहुँचयोग्यता प्रवर्द्धन गर्न चीनले अपनाएका अभ्यास झल्काउने १०० भन्दा बढी सामग्री तथा नमुना प्रदर्शन गरिएको थियो।
प्रदर्शनीमा सहभागीहरूले अत्याधुनिक स्मार्ट सहायक उपकरणहरू प्रत्यक्ष प्रयोग गर्दै तिनको अनुभवसमेत लिन पाएका थिए। साथै, अटिजम भएका बालबालिकाले सिर्जना गरेका चित्रकला तथा अपाङ्गता भएका कलाकारहरूले तयार पारेका हस्तकलाका सामग्रीले पनि प्रदर्शनीमा विशेष आकर्षण थपेको थियो।
