पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विदेशी चलखेलका कारण मुलुक ठूलो संकटबाट गुज्रिरहेको टिप्पणी गरेका छन् ।
शुक्रवार अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन भन्दै चिन्ता व्यक्त गरे ।
नेपालजस्तो भूपरिवेष्टित मुलुकले दुई ठूला छिमेकीसँग सुमधुर सम्बन्ध कायम गर्दै राष्ट्रिय स्वाभिमान र सम्मानको रक्षा गर्नुपर्नेमा गम्भीर हुनुपर्ने उनले बताए ।
उनले मुलुकको राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र र संविधान निर्माणमा आफूहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै संघीयताको रक्षा गर्ने जिम्मेवारी पनि आफूहरूकै काँधमा आएको दाबी गरे । गणतन्त्र, संविधान र संघीयताको संरक्षण तथा सुदृढीकरणका लागि सबै पक्षको सहयोग आवश्यक रहेको उनले बताए ।
नेपालले राष्ट्रिय राजनीतिमा नेकपाको महत्वपूर्ण भूमिका रहेको पनि बताए । उनले लोकतन्त्र, गणतन्त्र, संविधान र संघीयताको संरक्षणका लागि विचार मिल्ने तथा लोकतन्त्रका लागि लडेका पार्टीहरू एक भएर अघि बढ्नुपर्ने बताए ।
उनले भने, ‘अहिले हाम्रो देश ठूलो संकटमा छ । विदेशीहरूको चलखेल चलिरहेको छ । राष्ट्रियता संकटमा छ । हाम्रो देश कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन ? यो हामीलाई चिन्ता छ । नेपालजस्तो भूपरिवेष्टित देश, दुई ठूला देशको बीचमा अवस्थित यो देश कसरी शान्तिपूर्ण ढंगले बाँच्ने, कसरी छिमेकीहरूसँग सुमधुर सम्बन्ध बनाउने र नेपालको स्वाभिमानको रक्षा कसरी गर्ने, नेपालको सम्मान कसरी अगाडि बढाउने भन्ने भावनाबाट हामी अगाडि बढ्नुपर्ने र त्यसमा कसैले समस्या खडा गर्न खोज्छन् भने, चुनौती दिन खोज्छन् भने सामना गर्ने आँट हामीले गर्नुपर्छ ।’
उनले थपे, ‘चाहे राष्ट्रियताको विषय होस्, चाहे लोकतन्त्रको विषय होस्, चाहे गणतन्त्रको विषय होस् वा संविधानको विषय होस्, यी सबै विषयमा पनि अत्यन्तै गम्भीर हुनुपर्छ । गणतन्त्र हामीले ल्याएका छौँ । संविधान बनाउन हामीले पहल गरेका छौँ । संघीयता हामीले ल्याएका छौँ । त्यसो भएको हुनाले संघीयताको रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो । आमाको काम छोराछोरीलाई जन्माउने मात्र होइन, हुर्काउने पनि हो । उनीहरूलाई राम्रो बनाउने, योग्य बनाउने र सक्षम बनाउने पनि हो । यो सबै जिम्मेवारी पूरा गर्न तपाईंहरूको सहयोग चाहिन्छ ।’
उनले कृषिको आधुनिकीकरण र यान्त्रीकरणमार्फत कृषि क्रान्ति अगाडि बढाउनुपर्ने बताए ।
