नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले दशैं, तिहारलगत्तै सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
शुक्रवार अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले कथित नयाँ भनिएको सरकारले सुकुम्बासी तथा अव्यवस्थित नागरिक, मजदुर, किसान, विद्यार्थी तथा ट्रेड युनियनमाथि दमन गरेको आरोप लगाए ।
उनले सरकारका गतिविधि तथा कार्यशैलीविरुद्ध प्रतिपक्षी दलहरूलाई एक ठाउँमा ल्याउने कार्य भइरहेको पनि बताए । चाडपर्वपछि देशको परिस्थितिको मूल्याङ्कन गर्दै सरकारका गतिविधिविरुद्ध आन्दोलनमा उत्रिने तयारी भइरहेको उनले बताए ।
सरकारका गतिविधि र कार्यशैलीका कारण जनतामा रहेको भ्रम क्रमशः हट्दै गएको पनि उनले बताए । उनले पुनः जनतामा पुराना तथा स्थापित राजनीतिक दल, नेता र उनीहरूको एजेन्डाप्रति आकर्षण बढ्दै गएको दाबी गरे ।
उनले भने, ‘हामी बिस्तारै सदनभित्र सबै प्रतिपक्षहरूलाई एक ठाउँमा पारेका छौँ । सरकारले सुकुम्बासी, मजदुर, किसान, विद्यार्थी, बुद्धिजीवी, ट्रेड युनियन या मजदुर आन्दोलनका सबै सहयात्रीहरूमाथि पनि अहिलेको तथाकथित नयाँ भनिएको सरकारले दमन सुरु गरेको छ, ज्यादती र अत्याचार गरेको छ । त्यसका विरुद्ध बृहत् संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता छ । हामी त्यसको पनि तयारीमा छौँ ।’
उनले थपे, ‘चाडपर्वपछिको देशको परिस्थिति हेरेर हामीले फेरि प्रतिक्रान्तिकारी षड्यन्त्रका विरुद्ध एउटा नयाँ पहलकदमी, एउटा नयाँ प्रतिवाद, एउटा नयाँ आन्दोलन सृष्टि गर्नुछ । हामीलाई विश्वास छ, अहिले केही महिनाभित्रै यो नयाँ भनिएको सरकारका क्रियाकलापले जनतामा जुन दिग्भ्रमजस्तो भएको थियो, त्यो अब चिर्दै छ । जुन भ्रम थियो, त्यो च्यातिँदै छ । र एउटा नयाँ ढंगले फेरि स्थापित पार्टीहरू, स्थापित नेताहरू र उनीहरूको एजेन्डाप्रति जनताको आकर्षण दिनप्रतिदिन बढ्दै छ ।’
दाहालले आफू मधेश, वाग्मती वा देशका जुनसुकै क्षेत्रमा जाँदा जनतामा फेरि नेपाली कम्युनिष्ट पार्टीप्रतिको आकर्षण बढ्दो रहेको महसुस गरेको दाबी गरे । सबै आ–आफ्नो ठाउँबाट जनतामाझ गएर कुरा बुझाउन सके जनताहरू छिट्टै आफ्नो आन्दोलनमा आउन सक्ने अवस्था रहेको उनले बताए ।
सरकारले नागरिकको पक्षमा काम गर्न नसकेको संयोजक दाहालको आरोप छ ।
