नेपालको पुरुष कबड्डी टोलीले जापानमा जारी २०औँ एसियाली खेलकुदमा थाइल्याण्डसँगको हारसँगै यात्रा सुरु गरेको छ।
तोकाइ सिटिजन जिम्न्याजियममा सोमबार भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ५९–४८ अंकले पराजित भयो। दुवै हाफमा पछि परेको नेपालले पहिलो हाफमा थाइल्याण्डलाई कडा चुनौती दिएको थियो। तर, पहिलो हाफ सकिँदा नेपाल २४–२८ ले पछि परेको थियो।
दोस्रो हाफमा नेपालले पुनरागमन गर्ने प्रयास गरे पनि सफल भएन। दोस्रो हाफमा पनि थाइल्याण्डको आक्रामक शैलीलाई नेपाल रोक्न असफल रह्यो। थाइल्याण्डले दोस्रो हाफमा ३१ अंक जोड्दा नेपालले २४ अंक मात्र बनाउन सक्यो।
समूह ‘बी’ अन्तर्गतको खेलमा थाइल्याण्डले ११ अंकको जित निकालेको हो। भारतमा व्यावसायिक लिग खेलेका घनश्याम रोकामगरको कप्तानीमा नेपाल जित निकाल्न असफल भयो। विष्णुदत्त भट्ट मुख्य प्रशिक्षक थिए।
नेपालले २९ रेड अंक र १८ बोनस अंक प्राप्त गर्यो। नेपालले एक सुपर अंकसमेत हासिल गरेको थियो। पहिलो खेलमै पराजित भएपछि नेपाल दोस्रो चरणमा पुग्न दबाबमा परेको छ।
