भोटेकोशी बाढीका कारण क्षतिग्रस्त बनेका सडक र पुलहरूको पुनर्निर्माणलाई तीव्रता दिँदै सडक विभागले प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज जडान गर्ने प्रक्रिया सुरु गरेको जनाएको छ।
सिंहदरबारमा सोमबार बसेको पूर्वाधार विकास समितिको बैठकमा सडक विभागका महानिर्देशक डा. विजय जैसीले गल्छी–बेनीघाट र विदुर खण्डका क्षतिग्रस्त संरचनाहरूको वस्तुस्थिति र भइरहेका प्रयासबारे जानकारी गराए।
डा. जैसीका अनुसार गल्छी–बेनीघाट खण्डमा जम्मा भएको दुईदेखि चार मिटरसम्मको गेग्रान र पहिरो हटाएर यातायात सञ्चालनमा ल्याइसकिएको छ। त्रिशूली नदीको बहावले क्षति पुर्याएको कोल्मु खोला पुलमा अस्थायी विकल्प अपनाई सवारीसाधन सञ्चालन गरिएको छ भने स्थायी समाधानका लागि ठेक्का प्रक्रियामार्फत काम सुरु भइसकेको उनले बताए। सो पुल १५ दिनभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए।
त्यस्तै, रातमाटे क्षेत्रमा ठूलो पहिरो गएका कारण रोकिएको यातायात सुचारु गर्न सात दिनभन्दा बढी समय लगाएर सडक विभागले भित्री भागबाट बाटो खोलेको छ। तादीखोलामा नेपाली सेना र सडक विभागको संयुक्त टोलीले गेग्रान हटाउने कार्य सम्पन्न गरिसकेको छ।
महानिर्देशक जैसीले विदुर क्षेत्रमा नदीले दुईवटा पुल बगाएको स्थानमा हाल उपलब्ध ६० मिटरको बेलीब्रिज राख्ने योजना बनाइएको बताए। नदीको बहावलाई केही साँघुरो पारेर १५ देखि २० दिनभित्र बेलीब्रिज जडान गरी यातायात सुचारु गर्ने तयारी भइरहेको उनले बताए। बेलीब्रिजबाट समाधान ननिस्किए स्थायी पुल निर्माणका लागि तत्काल ठेक्का प्रक्रिया अघि बढाउने विभागको तयारी छ।
उनले भने, ‘क्षतिग्रस्त सडक तथा पुलहरूमा तत्काल आवागमन सुचारु गर्न बेलीब्रिज र वैकल्पिक सडक प्रयोग गरिँदैछ। सम्भव भएका स्थानमा ६ महिनादेखि एक वर्षभित्र स्थायी पुल निर्माण गर्ने गरी ठेक्का प्रक्रियामा जाने तयारी छ।’
‘घाटीबेँसीको पुलका पिलर मर्मत गरी अस्थायी रूपमा सञ्चालन गर्ने वा आवश्यकताअनुसार ट्रस ब्रिज राख्ने विकल्पमा काम भइरहेको छ। गल्छी–बेनीघाट सडकमा पहिरो र डेब्रिज हटाएर ३–५ दिनमै यातायात सञ्चालनमा ल्याइएको छ। कोल्मु खोलाको पुलमा अस्थायी आवागमन सञ्चालन भइसकेको छ भने स्थायी पुल निर्माणको ठेक्का भई काम सुरु भइसकेको छ। करिब १०–१५ दिनभित्र पुल सञ्चालनमा ल्याउने लक्ष्य छ,’ उनले भने।
‘रातमाटे क्षेत्रमा ठूलो पहिरो हटाउन आवश्यक उपकरण परिचालन गरी करिब एक सातामा सडक सञ्चालन गरिएको छ। तादीखोलाको डेब्रिज पनि नेपाली सेना र सडक विभागको संयुक्त प्रयासमा हटाइसकिएको छ। सबैभन्दा बढी प्रभावित क्षेत्रमा त्रिशूली नदीका दुई पुल क्षतिग्रस्त भएकाले तत्काल आवागमनका लागि ६० मिटरको बेलीब्रिज राख्ने तयारी भइरहेको छ। नदीको बहाव व्यवस्थापन गरी करिब १५–२० दिनभित्र बेलीब्रिज सञ्चालनमा ल्याउने लक्ष्य छ,’ उनले बताए।
घाटीबेँसीको क्षतिग्रस्त पुलका सन्दर्भमा भने पिलर मर्मत गरी अस्थायी रूपमा दुई वटा ट्रस राखेर सञ्चालन गर्ने वा नयाँ ‘ट्रस ब्रिज’ निर्माण गर्ने भन्ने विषयमा प्राविधिक मूल्याङ्कन भइरहेको विभागले जनाएको छ।
