काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन सोमबार साँझ अमेरिका प्रस्थान गर्दैछन्। उनी करिब ७ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट न्यूयोर्कतर्फ जाने कार्यक्रम छ।
प्रधानमन्त्रीको यसपटकको विदेश भ्रमणमा विगतको भन्दा फरक शैली अपनाइने भएको छ। विदेश प्रस्थानका क्रममा नेपाली सेनाबाट दिइने औपचारिक सलामी तथा सरकारी पदाधिकारी र कर्मचारीको ठूलो संख्यामा हुने बिदाइको परम्परा नहुने प्रधानमन्त्री कार्यालयले जनाएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार शाह विमानस्थल पुगेपछि भीआईपी कक्षमा लामो समय नबसी सीधै विमानतर्फ जानेछन्। उनको टोलीका सदस्यहरू भने प्रधानमन्त्री विमानस्थल पुग्नुअघि नै त्यहाँ पुग्ने व्यवस्था गरिएको छ।
यसअघि प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा विमानस्थलमा मन्त्री, उच्च सरकारी अधिकारी तथा कर्मचारीहरू बिदाइका लागि उपस्थित हुने गरेका थिए। तर शाहको भ्रमणमा यस्तो औपचारिक भीडभाड नगर्ने तयारी गरिएको हो।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्रीले विदेशबाट फर्किँदा पनि विगतमा जस्तै सरकारी अधिकारीहरूको ठूलो उपस्थितिमा स्वागत गर्ने परम्परालाई निरन्तरता नदिने नीति लिएका छन्।
शाह सोमबार बिहानैदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नियमित काममा व्यस्त रहेका थिए। उनी साँझ बालुवाटारस्थित सरकारी निवासबाट विमानस्थलतर्फ जाने कार्यक्रम छ।
संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री शाहले नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेका समस्या तथा जलवायु न्यायको विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेका छन्। विशेषगरी हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव र त्यसबाट नेपालले व्यहोर्नुपरेका चुनौतीबारे उनले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनेछन्।
प्रधानमन्त्री कार्यालयका अनुसार विपद्को समयमा विदेश भ्रमणका क्रममा अनावश्यक तामझाम र औपचारिकतामा जोड नदिने नीति अनुरूप विमानस्थलमा हुने बिदाइ कार्यक्रमलाई समेत सामान्य बनाइएको हो।
