दक्षिण चीनको ग्वाङडोङ प्रान्तस्थित फोशान शहरको एक कपडा कारखानामा भएको भीषण आगलागीमा परी ८ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूका अनुसार दुर्घटनामा अन्य एक जना घाइते भएका छन् ।
फोशान शहरको शुन्दे जिल्लास्थित जुन’आन टाउनसिपमा रहेको चाङसिङ औद्योगिक पार्कको एक कारखानामा आगलागी सुरु भएको थियो । सूचना प्राप्त हुनासाथ घटनास्थलमा खटिएका अग्नि नियन्त्रकहरूले करिब ३० मिनेटभित्र आगो नियन्त्रणमा लिएका थिए ।
अपराह्न ४ः१० बजेसम्म आगो पूर्ण रूपमा निभाइएको शुन्देको आपतकालीन व्यवस्थापन विभागले जनाएको छ । आगलागी भएको दुईतले पक्की भवन डेनिम कपडा धुने तथा अन्य उत्पादन कार्यका लागि प्रयोग हुँदै आएको थियो ।
आगलागीबाट भवनको करिब २०० वर्गमिटर क्षेत्रमा क्षति पुगेको छ । आगो अन्य क्षेत्रमा फैलन नपाएकाले थप ठूलो मानवीय क्षति हुनबाट जोगिएको थियो । घटनास्थलबाट कुल ६३ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।
घाइते एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उद्धार कार्य सम्पन्न भइसकेको र आगलागीको यकिन कारण खुल्न नसकेपछि अधिकारीहरूले घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेका छन् ।
