काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवास्थित नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका विभिन्न जलविद्युत् आयोजना तथा विद्युत् गृहमा ठूलो क्षति पुगेको छ। बाढी प्रभावित क्षेत्रमा कार्यरत केही कर्मचारीको अवस्थासमेत अज्ञात रहेको प्राधिकरणले जनाएको छ।
बाढीका कारण रसुवागढी, त्रिशूली–३ बी हब, त्रिशूली जलविद्युत्, माथिल्लो त्रिशूली–३ ए तथा देवीघाटलगायतका विद्युत् गृहमा क्षति पुगेको छ। यद्यपि, क्षतिको विस्तृत विवरण भने अझै प्राप्त हुन सकेको छैन।
प्रभावित क्षेत्रमा कार्यरत कर्मचारीको अवस्थाबारे जानकारी लिन प्राधिकरणले सम्पर्कको प्रयास गरिरहेको छ। बाढीका कारण सञ्चार तथा आवतजावत प्रभावित भएकाले कर्मचारीको अवस्थाबारे यकिन जानकारी आउन नसकेको प्राधिकरणले जनाएको छ।
