काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी केही दिनमा हुन सक्ने भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भन्दै नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न क्षेत्रमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै पार्टीले यस्तो अपिल जारी गरेको हो।
जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी
नेकपाका प्रवक्ता प्रकाश ज्वालाले जारी गरेको अपिलमा नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, आकस्मिक बाढी तथा पहिरो आउन सक्ने र केही क्षेत्रमा डुबानको अवस्था सिर्जना हुन सक्ने उल्लेख गरिएको छ।
उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना तथा वर्षाका कारण सडक र हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न पार्टीले आग्रह गरेको छ।
विशेषगरी नदी तथा खोलाका किनार, पहिरोको जोखिम भएका पहाडी तथा भिराला क्षेत्र, डुबान सम्भावित भूभाग र उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकलाई थप सतर्क रहन आग्रह गरिएको छ।
जोखिमपूर्ण यात्रा नगर्न सुझाव
नेकपाले अत्यावश्यक कामबाहेक जोखिमयुक्त क्षेत्रमा यात्रा तथा आवतजावत नगर्न नागरिकलाई अनुरोध गरेको छ।
त्यस्तै, लामो दूरीको यात्रा तथा रातिको समयमा हुने आवतजावत सकेसम्म स्थगित गर्न र नदी–खोला आसपास तथा बाढी वा पहिरोको सम्भावना भएका क्षेत्रमा नजान अपिलमा भनिएको छ।
जोखिमयुक्त स्थानमा बसोबास गरिरहेका नागरिकले अवस्था बिग्रनुअघि नै सुरक्षित स्थानमा सर्नुपर्नेमा पनि जोड दिइएको छ।
आवश्यक सामग्री सुरक्षित राख्न आग्रह
सम्भावित विपद्लाई ध्यानमा राख्दै पशुचौपाया, औषधि, महत्वपूर्ण कागजात, खाद्यान्न, लत्ताकपडा तथा अन्य आवश्यक सामग्री सुरक्षित राख्न नेकपाले आग्रह गरेको छ।
बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा सुत्केरी महिला र बिरामीजस्ता संवेदनशील समूहको सुरक्षामा विशेष ध्यान दिन पनि सम्बन्धित सबै पक्षलाई अपिल गरिएको छ।
सरकारी सूचनापछि मात्र यात्रा गर्न सुझाव
नेकपाले अत्यावश्यक अवस्थामा स्थल वा हवाई यात्रा गर्नुपरेमा सम्बन्धित सरकारी तथा सुरक्षा निकायबाट जारी हुने पछिल्लो सूचना हेरेर मात्र यात्रा गर्न आग्रह गरेको छ।
पार्टीले यसअघि रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ठूलो क्षति भएको घटनालाई समेत स्मरण गराउँदै नयाँ प्राकृतिक विपद्को सम्भावित जोखिमप्रति नागरिक, स्थानीय तह तथा सम्बन्धित निकायलाई पूर्वतयारीमा रहन आग्रह गरेको छ।
