अविरल वर्षाका कारण नारायणी नदीमा आएको उच्च बहावले नवलपुरको जनजीवन अस्तव्यस्त बनेको छ।
बाढीका कारण सुस्ता गाउँसहित विभिन्न क्षेत्र डुबानमा परेपछि १ हजार १०० भन्दा बढी नागरिक विस्थापित भएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले बाढी प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराए।
सांसद खनालले नारायणी नदीको बहाव उच्च हुँदा अमलटारी, सेरी, तमासपुर र बहुवन क्षेत्र उच्च जोखिममा परेको तथा सिङ्गो सुस्ता गाउँ नै डुबानको चपेटामा परेको जानकारी दिए।
स्थानीय प्रशासनले २३५ घरधुरीका १ हजार १०० नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरे पनि पानीको सतह घटेपछि समेत विस्थापितहरू घर फर्कने अवस्था नरहेको उनले बताए।
सांसद खनालले नदी तटीय क्षेत्रमा बाढी र डुबानले पुर्याएको क्षतिको गम्भीर समीक्षा गर्दै सरकारले तत्काल राहतको प्याकेज घोषणा गर्नुपर्ने बताए। साथै, यसको दीर्घकालीन समाधानका लागि विगतमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले तयार पारेको कटान नियन्त्रणसम्बन्धी अध्ययन प्रतिवेदन तत्काल ऊर्जा मन्त्रालयबाट झिकाई कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए।
बाढीका कारण कालीगण्डकी करिडोरमा पुगेको क्षति तथा बौदीकाली गाउँपालिका जोड्ने झोलुङ्गे र पक्की पुलमा भएको क्षतिले नागरिकको आवतजावत ठप्प भएको उनले बताए।
यसका साथै, बौदीकाली–४, ऋचाङको मौलाथरमा गएको पहिरोले पुर्याएको क्षतिप्रति पनि उनले सरकारको ध्यानाकर्षण गराए।
प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन पूर्वतयारी र विस्तृत अध्ययन आवश्यक रहेको सांसद खनालले बताए।
