सांसदहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
राष्ट्रिय सभाको सोमवारको बैठकमा शुन्य समयमा धारणा राख्दै उनीहरूले सुशासनको नारा व्यवहारमा नदेखिएको, दैलेखको ग्यास उत्खननमा ढिलाइ भएको र बाढी–पहिरोपीडितको उद्धार तथा राहत कार्य प्रभावहीन बनेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद विष्णुदेवी पुडासैनीले सडकका खाल्डाखुल्डी पुर्न नसक्नु र असुरक्षाका कारण नागरिकले ज्यान गुमाउनु सुशासनको उपहास भएको बताए । उहाँले सडकको दुरवस्थाका कारण यात्रा कष्टकर बनेको र बालिका हत्याका अभियुक्तहरूलाई न्युन धरौटीमा छाडिनु न्यायको मर्म विपरीत रहेको भन्दै सरकारको आलोचना गरे ।
सांसद विष्णुबहादुर विश्वकर्माले दैलेखमा मिथेन ग्यासको भण्डार पुष्टि भइसके पनि सरकारले उत्खनन कार्य अघि नबढाएकोमा आपत्ति जनाए । उहाँले राज्यको स्रोत उपयोग गर्न नसक्नु सरकारको कमजोरी भएको उल्लेख गर्दै ग्यासको हाहाकार टार्न तत्काल परियोजना सञ्चालन गर्न माग गरे ।
सांसद सावित्री मल्लले असोज महिनाको अविरल वर्षापछिको बाढी, पहिरो र डुबानले पु¥याएको क्षतिप्रति चिन्ता व्यक्त गरे । अन्य सांसदहरुले पनि २१ जनाभन्दा बढीको मृत्यु र सयौँको विस्थापन हुँदा पनि सरकारले राहत र उद्धारमा विशेष प्याकेज नल्याएको आरोप लगाए । साथै, मृत्यु दर्तामा भइरहेको कानूनी झमेलालाई तत्काल फुकाउन सरकारसँग विशेष कानुनको माग गरेका छन् ।
सांसद बिष्णुबहादुर विश्वकर्माले पूर्वन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गर्दा अपनाइएको प्रक्रियामाथि प्रश्न उठाउँदै लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाका लागि सरकारलाई सचेत गराए । बैठकमा सांसदहरूले चाडपर्व नजिकिँदै गर्दा भत्किएका सडक र पुलको तत्काल मर्मत गर्नुपर्नेमा जोड दिए ।
