नेकपा एमालेका सांसद क्षितिज थेबेले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नियन्त्रण शैलीप्रति आपत्ति जनाउँदै वर्तमान सरकारको कार्यशैलीलाई ‘टोले गुण्डा’को संज्ञा दिएका छन् ।
सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विधि र प्रक्रिया मिचेर गरिएको धरपकडले सुशासन कायम नहुने र यसले सरकारको अधिनायकवादी चरित्र देखाउने जिकिर गरेका छन् । सांसद थेबेले पूर्वप्रधानन्यायाधीशलाई प्रहरीले ससम्मान नियन्त्रणमा लिनुपर्नेमा राज्यले नै अपहरणको शैली अपनाएको दाबी गरेका छन् । उहाँले सरकारको यस किसिमको गतिविधिले जनतामा त्रास फैलाउने काम मात्र गरेको भन्दै सरकार स्वयं ‘धामी र झाँक्री’ दुवै बनेर अराजकता मच्चाउन उद्यत रहेको आरोप लगाएका छन् । उहाँले सरकार केवल सामाजिक सञ्जालमा कन्टेन्ट बनाउन र प्रचारबाजीमा व्यस्त रहेको तर पुनर्निर्माणको काम ठप्प भएको गुनासो गरेका छन् । देशको पछिल्लो अवस्थाबारे चिन्ता व्यक्त गर्दै थेबेले प्राकृतिक विपद्को सामना गर्न सरकार विफल भएको बताएका छन् ।
उहाँले भन्नुभयो, ‘प्रहरी नै थियो भने बर्दी हुन्थ्यो, तर यहाँ त राज्यकै नाममा गुण्डागर्दी गरियो। यो विधि र कानूनको उपहास हो । कालीगण्डकी, बागमती र कोशीले देशलाई रुवाएको छ। क्लाइमेट जस्टिसका विषयमा सरकार गम्भीर हुनुपर्नेमा प्रधानमन्त्री भने जवाफ दिनबाट पन्छिँदै आउनुभएको छ । ग्यास अभाव र महङ्गीले जनताको ढाड सेकेको छ, तर सरकार जवाफदेही छैन ।’
आर्थिक संकट र महङ्गीको विषय उठाउँदै उनले मुद्रास्फीति (इन्फ्लेसन) दर १.४ प्रतिशतबाट ५.५५ प्रतिशत पुग्दा पनि सरकार मूकदर्शक बनेको आरोप लगाएका छन् । उनले एमाले सधैँ स्थिरताको पक्षमा रहे पनि सरकारको गलत रबैयाका कारण जनताले सडकमा आउनुपर्ने अवस्था सिर्जना भइरहेको चेतावनी दिएका छन् ।
