काठमाडौँ । रसुवा बाढीमा परी बेपत्ता भएकाहरूमध्ये हालसम्म १ सय ६५ जनाको शव फेला परेको छ।
बिहीवार बिहान सवा ८ बजेसम्म सरकारले दिएको जानकारीअनुसार हालसम्म १६५ जनाको शव फेला परेको छ भने ८ सय २६ जना अझै बेपत्ता छन्। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले देशका विभिन्न स्थानमा भएको विपद्का कारण ठूलो मानवीय क्षति भएको जानकारी दिएको छ।
केन्द्रका प्रमुख फडेन्द्रप्रसाद पौडेलले बेपत्ता हुनेहरूमध्ये ८५ जना सुरक्षाकर्मी रहेको बताए। जसमा नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बलका १३ जना छन्। अन्य बेपत्ताहरूमा रसुवाका १ सय ६१ र नुवाकोटका १ जना रहेका छन्।
यसैगरी, कुल ५ सय ७९ जना पर्यटक पनि सम्पर्कविहीन भएको मन्त्रालयले जनाएको छ। जसमा १ सय १३ जना नेपाली र ४ सय ६६ जना विदेशी पर्यटक रहेका छन्। मन्त्रालयको विवरणअनुसार हालसम्म १०४ जनाको सफल उद्धार गरिएको छ। उद्धार गरिएकाहरूमध्ये रसुवाबाट ४३, नुवाकोटबाट ५८ र धादिङबाट ३ जना रहेका छन्।
फेला परेका १ सय ६५ शवहरूको जिल्लागत विवरणअनुसार धादिङमा २७, नुवाकोटमा १२, रसुवामा २, गोरखामा २०, नवलपरासीमा २६, तनहुँमा ९ र चितवनस्थित नारायणी नदी आसपास क्षेत्रमा ६४ वटा शव प्राप्त भएका छन्। त्यस्तै, नवलपरासी पश्चिममा ५ जनाको शव फेला परेको छ।
केन्द्रका प्रमुख पौडेलले फेला परेका कतिपय शवहरू क्षतविक्षत अवस्थामा रहेको बताए।
मन्त्रालयले सूचनाको संवेदनशीलतालाई ध्यानमा राख्दै आधिकारिक निकायबाट संप्रेषित समाचारलाई मात्र विश्वास गर्न आम नागरिकलाई अनुरोध गरेको छ।
