नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारले गठन भएको ६ महिनामा जनअपेक्षाअनुसार प्रभावकारी परिणाम देखाउन नसकेको बताएका छन्।
सिंहदरबारमा मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै बरालले सरकारले काम गर्ने प्रतिबद्धता देखाए पनि व्यवहारमा त्यसअनुसारको उपलब्धि हासिल हुन नसकेको धारणा राखे।
उनका अनुसार सरकारको सुरुवाती चरणमा सुकुम्बासी बस्तीमा डोजर चलाइएको भए पनि प्रभावित परिवारको दीर्घकालीन व्यवस्थापनको विषय अझै समाधान भएको छैन। विभिन्न सार्वजनिक संस्थामा राजनीतिक प्रभावका आधारमा नियुक्ति गरिएको र विगतमा परिवर्तन गरिएका कानुनी व्यवस्था पुनःस्थापित गर्ने उद्देश्यसहित विधेयक अघि बढाइएको उनको आरोप छ।
बरालले सरकार संसद्प्रति पर्याप्त जवाफदेही हुन नसकेको दाबी पनि गरे। सार्वजनिक रूपमा उठेका महत्वपूर्ण विषयमा प्रधानमन्त्री तथा सरकारका तर्फबाट संसद्मा स्पष्ट जवाफ आउनुपर्ने उनको भनाइ थियो।
बजारमा बढ्दो मूल्यवृद्धि, खाद्य वस्तुमा हुने मिसावट र कृत्रिम अभाव नियन्त्रण गर्न सरकार प्रभावकारी बन्न नसकेको उनले बताए। आम उपभोक्ताले आवश्यक वस्तु तथा खाना पकाउने ग्यास सहज रूपमा पाउन नसकेको विषय पनि उनले उठाए।
त्यसैगरी, भोटेकोशी, रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत जिल्लामा बाढी तथा अन्य विपद्का कारण प्रभावित नागरिकको उद्धार र खोजी कार्यमा सरकारको प्रतिक्रिया पर्याप्त प्रभावकारी नभएको बरालको दाबी छ। विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत तथा पुनर्स्थापनामा प्राथमिकता दिनुपर्ने उनले बताए।
