काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह बिहीबार बिहान बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका छन्।
प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल पनि निरीक्षणका लागि नुवाकोटतर्फ गएका छन्। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार प्रधानमन्त्री र मन्त्रीसहितको टोली बिहान साढे ९ बजे सडकमार्ग हुँदै विदुरतर्फ गएको हो।
बुधबार रसुवाको भोटेकोसी र त्रिशूली हुँदै आएको बाढीले नदी तटीय क्षेत्रका विभिन्न स्थानमा ठूलो क्षति पुर्याएको थियो। बाढीपछि उद्धार, राहत तथा व्यवस्थापनका लागि सरकारले सक्रियता बढाउँदै आएको छ।
प्रधानमन्त्री शाहले बाढीको घटनालगत्तै उच्चस्तरीय बैठक आह्वान गरी उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएका थिए। उनले विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहतको अवस्थाबारे निरन्तर जानकारी लिँदै आवश्यक सहजीकरण गर्दै आएका छन्।
नुवाकोट पुगेपछि प्रधानमन्त्री शाहले बाढीबाट प्रभावित क्षेत्र, क्षतिको अवस्था तथा उद्धार र राहत कार्यको स्थलगत जानकारी लिने बताइएको छ।
