काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता, नेतृत्व तथा चुनाव चिह्न ‘रुख’लाई लिएर जारी कानुनी विवाद अझै समाधान नभएको नेपाली कांग्रेसको देउवा पक्षले जनाएको छ।
बाजुरामा बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत देउवा पक्षका नेताहरूले सर्वोच्च अदालतमा विचाराधीन विषयलाई लिएर कुनै पक्षले आफूलाई विजयी घोषणा गर्नु उचित नहुने बताएका छन्। उनीहरूले अदालतको निर्णय आउन बाँकी रहेकाले यस विषयमा भ्रम सिर्जना गर्ने गरी प्रचार नगर्न आग्रह गरेका छन्।
देउवा पक्षका तर्फबाट संयोजक धनराज पण्डितले आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस नेता तथा पूर्वप्रदेश प्रमुख देवराज जोशी, पूर्वबाजुरा जिल्ला सभापति कविराज पण्डित, नारायण पाध्याय, रनसिंह अयडी, नरबहादुर रावतलगायत नेताहरू सहभागी थिए।
पत्रकार सम्मेलनमा पूर्वजिल्ला सभापति कविराज पण्डितले पार्टीको आधिकारिकता र ‘रुख’ चुनाव चिह्नसम्बन्धी कानुनी विवाद सर्वोच्च अदालतमा अझै विचाराधीन रहेको बताए। अदालतबाट अन्तिम निर्णय नआएसम्म कुनै एक पक्षले आफ्नो पक्षमा फैसला भइसकेको शैलीमा प्रचार गर्नु उचित नहुने उनको भनाइ थियो।
पण्डितले कानुनी प्रक्रिया जारी रहेको अवस्थामा जनतामाझ आफू नै आधिकारिक भएको सन्देश दिने प्रयासले भ्रम उत्पन्न गर्न सक्ने बताए। उनले अदालतले निर्णय गर्न बाँकी रहेको विषयमा राजनीतिक रूपमा निष्कर्ष सुनाउनु उचित नहुने धारणा राखे।
यसै क्रममा उनले विवाद समाधान नभई वडा तथा पालिका तहका अधिवेशनको प्रक्रिया अघि बढाइएकोप्रति पनि असहमति जनाए। आफ्नो पक्षको असहमति पार्टी विभाजन वा छुट्टै कांग्रेस गठन गर्ने उद्देश्यबाट प्रेरित नभएको उनले स्पष्ट पारे।
कांग्रेस नेता तथा पूर्वप्रदेश प्रमुख देवराज जोशीले पार्टीको आन्तरिक राजनीतिमा विधि, विधान र तथ्यलाई आधार बनाउनुपर्ने बताए। भ्रम तथा गलत प्रचारमार्फत जनमत प्रभावित गर्ने प्रयास दीर्घकालीन रूपमा सफल नहुने उनको दाबी थियो।
पत्रकार सम्मेलनमा सहभागी नेताहरूले देउवा नेतृत्वको पक्षले कार्यकर्तालाई आश्वासन वा भ्रममा पारेर आफ्नो पक्षमा ल्याउने प्रयास नगरेको बताएका थिए। आफूहरूको समर्थन कमजोर रहेको भन्ने दाबीप्रति असहमति जनाउँदै उनीहरूले आगामी अधिवेशनमा कार्यकर्ताको सहभागिता र सक्रियताबाट त्यसको वास्तविक अवस्था देखिने बताएका छन्।
देउवा पक्षका नेताहरूले पार्टीको संगठनात्मक गतिविधि विधान र निर्धारित प्रक्रियाअनुसार अघि बढाउने बताएका छन्। उनीहरूका अनुसार असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने तयारी गरिएको छ।
यसैबीच, प्रदेश सभापति वीरबहादुर बलायरले १५औँ महाधिवेशनमा सभापति चयन गरेर एकताको महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेको भन्ने विषयमा पनि नेता रनसिंह अयडीले प्रश्न उठाएका छन्। उनले उक्त विषयमा समेत विभिन्न किसिमका भ्रमपूर्ण प्रचार भइरहेको दाबी गरे।
अयडीले कांग्रेसलाई एक पक्षले नियन्त्रणमा लिने वा पार्टीको संगठनलाई आफ्नो अनुकूल सञ्चालन गर्ने प्रयास सफल नहुने बताए। पार्टीभित्र देखिएको मतभेदलाई विभाजनको विषयका रूपमा नभई विचार, विधि र संगठन सञ्चालनको प्रक्रियासँग जोडेर बुझ्नुपर्ने उनको धारणा थियो।
